यतिमै रोकिन्न कोभिड, एकै दिन २० हजार संक्रमित हुने, सचेत रहन विज्ञहरुको सुझाव



काठमाडौ । कोभिडको बढ्दो संक्रमण यतिमा मात्र सिमित हुने छैन । मंगलवार एकै दिन १० हजार बढीमा संक्रमण भएको थियो । माघ दोस्रो साताबाट अहिलेको तुलनामा दैनिक संक्रमित हुनेको संख्या अझै थपिने स्वास्थ्यविदहरूले बताएका छन् । अबको एक हप्तामा नै दैनिक १५ देखि २० हजारसम्म संक्रमित थपिन सक्ने टेकु अस्पतालकी निर्देशक डाक्टर मनिषा रावलले बताइन् ।

विश्व स्वास्थ्य संगठनले पनि सोही अनुमान गरेको छ । पहिलो लहरको कोभिड र डेल्टा भन्दा पनि बढी संक्रामक मानिएको ओमिक्रोनको महामारीले सबै भन्दा बढी प्रभाव पार्ने स्वास्थ्यविदहरुले जनाएका छन् । त्यसैले केही साता थप सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । बढी संक्रामक भएपनि डेल्टा भन्दा ओमिक्रो कम जोखिमयुक्त भएको विज्ञको भनाई छ ।

डाक्टर रावलका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित बनेको अवस्थामा कोभिडको उपचारसँगै अन्य रोगको उपचारमा पनि खासै प्रभाव पर्दैन । कोभिडको बढ्दो संक्रमणले उपचारमा असर नपरोस् भनेर कर्मचारीलाई ‘बुस्टर डोज’ दिएर तयारी अवस्थामा राखिएको छ ।

टेकु अस्पतालमा मंगलबारसम्म सात जना संक्रमित बिरामी आइसोलेसनमा भर्ना भएका छन् भने पाँच जना आईसीयूमा उपचार गराइरहेका छन् । यस्तै पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले पनि माघको दोस्रो साता संक्रमण दर उच्च हुन सक्ने अनुमान रहेको बताएका छन् ।

‘अहिले पाटन अस्पतालमा कार्यरत ८० जना डाक्टर नै कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेकाले अस्पतालमा स्वास्थ्यकर्मीकै अभाव हुन्छ कि भन्ने आँकलन पनि गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मात्रै ३ सयभन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ । एकैपटक धेरै स्वास्थ्यकर्मी कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । यता, कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा मंगलबारसम्म १ सय ३३ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले संक्रमण दर बढेर एकैदिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताएका छन् । संक्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि उनको अनुमान छ ।

उपत्यकाका ठूला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुने संख्या दिनदिनै बढ्दै जाँदा जनशक्ति अभाव हुने अवस्था सिर्जना हुनसक्नेमा स्वास्थ्यविदहरू चिन्तिन छन् ।

यो अवस्थामा स्वास्थ्यकर्मीको अभाव हुन नदिन करारमा राखिएका स्वास्थ्यकर्मीको सेवा अवधि तीन महिना थप गरिएको छ । आवश्यक परे छात्रवृत्तिमा पढेका चिकित्सक तथा एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई पनि काममा लगाउने मन्त्रालयको योजना छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्