घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछि……




काठमाडौं । घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछि भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।

सत्तरी वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । “बिरामी भएपछि पीसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो”, सो बस्तीका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुर भन्नुहुन्छ, “बस्तीमा पीसीआर परीक्षण गरिँदा २०० हाराहारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो ।”

भङ्गाहा–४ कै महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठ भन्नुहुन्छ, “रुघाखोकी बढेको हुँदा मान्छेको मन आत्तिएको हो, आत्मसंयम र उपचार भने गरिनुपर्छ ।” बस्तीमा रुघाखोकीका बिरामी बढेपछि घरघरै पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान स्वयंसेवी युवाले सल्लाह दिँदैछन् ।

“हामी स्वास्थ्य मापदण्ड निर्वाह गर्दै चिसो स्याँठबाट बच्न, काम नपरी घर बाहिर ननिस्कन, ताजा र झोलिलो खाना खान र स्वास्थ्य समस्या बढ्नासाथ स्वास्थ्यचौकी पुग्न घरघरै पुगेर सल्लाह दिइरहेका छौँ”, बस्तीका सामाजिक कार्यकर्ता नारायण दाहालले भन्नुभयो ।

जिल्लामा अहिले यो बस्तीमात्र नभएर सबैतिर रुघाखोकीका बिरामी बढेका छन् । खासमा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका जताततैका खबरले बस्तीमा चिन्ता छाएको देखिन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्