खराब मौसमले अर्को एयरपोर्ट पुगेका पाइलटले ड्युटी सकिएको भन्दै यात्रु छोडेर हिँडेपछी……



काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) फेरि विवादमा परेको छ । पाकिस्तानको यो सरकारी एयरलाइन्सका एक पाइलटले विमानलाई साउदी अरेबियाबाट इस्लामावादमा लैजान अस्वीकार गरेपछि तनाव भएको हो । फलस्वरूप, यात्रुहरू अर्को देशमा अड्किएका हुन् । घटना आइतबार रातिको हो ।

यात्रुलाई फिर्ता ल्याउने प्रयास भइरहेको वायुसेवा कम्पनीले जनाएको छ । गत वर्ष पाकिस्तानी सरकारी वायुसेवा कम्पनी नक्कली पाइलट लाइसेन्स मुद्दामा फसेको थियो ।देशका ४० प्रतिशत पाइलटको लाइसेन्स नक्कली भएको देशका नागरिक उड्डयन मन्त्री आफैंले संसदमा स्वीकार गरेका थिए ।

पाकिस्तानको अखबार ‘द एक्सप्रेस ट्रिब्युन’ को रिपोर्ट अनुसार पीआईएको उडान नम्बर पीके–९७५४ आइतबार साउदी अरेबियाको राजधानी रियादबाट टेकअफ हुनुपर्ने थियो । जहाजमा सबै यात्रु सवार थिए । यो उडान त्यहाँबाट उडेर सिधै इस्लामाबाद अवतरण हुनुपर्ने थियो । विमान उड्यो, त्यसपछि मौसम खराब भयो । खराब मौसमका कारण विमान दमाम सहरमा अवतरण गराइयो ।केही समयपछि मौसम सफा भए पनि नयाँ हलचल मच्चियो । पाइलटले आफ्नो ड्युटी सकिएको र इस्लामावादको लागि उडान नभर्ने बताए ।

त्यसले यात्रुहरूले झगडा गरे र उनीहरूले विमानबाट तल आउन अस्वीकार गरेका हुन् । बढ्दो कोलाहल देखेर दमाम विमानस्थलका अधिकारीहरूले सुरक्षा बल बोलाए । यात्रुलाई तल ल्याइयो । पछि पिआइएका प्रवक्ताले भने, ‘पाइलटले ड्युटी चार्टरअनुसार आराम गर्नुपर्छ । यो यात्रुको सुरक्षाको लागि पनि धेरै महत्त्वपूर्ण छ । हामीले उडानलाई इस्लामावादल्याउनका लागि अन्य व्यवस्था गरेका छौं ।’

इस्लामावादबाट पाकिस्तानको यो सरकारी एयरलाइन्सको उडान नोभेम्बरमा नै सुरु भएको थियो । पीआईएको समस्या गत वर्षको जुनमा सुरु भएको थियो । पाकिस्तानका उड्डयन मन्त्री गुलाम सरवरले संसदमा खुलासा गरेका थिए कि देशका ४० प्रतिशत पाइलटले नक्कली लाइसेन्स र डिग्री लिएर काम गरिरहेका छन् ।

त्यसपछि धेरै देशले पाकिस्तानका पाइलटलाई बर्खास्त गरे, धेरै देशले पीआईएको उडानमा प्रतिबन्ध लगाएका छन् । सबैभन्दा ठूलो धक्का युरोपियन युनियनले दिएको थियो । युनियनले पाकिस्तानबाट हुने सबै उडान बन्द गरेको थियो, अझै सुरु भएका छैनन् । पीआईएले २६१ पाइलटको लाइसेन्स खारेज गरी बर्खास्त गरेको छ । १४१ विरुद्ध फौजदारी मुद्दा दायर भएको छ । तर, त्यसपछि के भयो, पाकिस्तान सरकारले जानकारी दिएको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई etajak[email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्