तीन दिन देशभरको मौसम नखुल्ने : पानी र हिउँले चिसो बढ्ने



काठमाडौं –

अबको तनि दिन देशभरकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अबको तीन दिन मौसम चिसो हुनेछ ।

तीन दिन दिउँसो मौसम पूर्ण रुपमा नखुल्दा चिसो बढ्नेछ। मौसम नखुले पनि लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् पौडेलको भनाइ छ।

यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। तराईमा भने हुस्सु लागेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली भएर पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली भएर प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्