काठमाडौं उपत्यकामा पहिलोपटक संक्रमणको नयाँ रेकर्ड



काठमाडौं:

नेपालमा संक्रमण दर ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन १२ हजार ३३८ जनामा संक्रमण देखिएको छ। कूल २७ हजार ४९७ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६४९ जना संक्रमित मुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३२८ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको हो ।

यस्तै त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविको बिहीबार बसेको बैठकले ९ माघ आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७८।१०।६ गते बसेको बैठकबाट हाल त्रि.वि द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्