संक्रमितको संख्या बढेपनि अब घट्न थाल्यो सङ्क्रमण दर, काठमाडौमा झण्डै ७ हजार संक्रमित



काठमाडौ । दिनहुँ संक्रमित हुनेको संख्या उकालो लाग्ने क्रममा छ । दुई दिन यता दिनहुँ १० हजार भन्दा माथि संक्रमित बढ्न थालेका छन् । विहिवार पछिल्लो २४ घण्टामा १२ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यसमा आधा भन्दा बढी संख्या काठमाडौको मात्र छ । काठमाडौँ उपत्यकामा एकै दिन ६ हजार ९८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ५ हजार १, ललितपुरमा १ हजार १३० तथा भक्तपुरमा ८५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेको संख्या बढी देखिएपनि संक्रमण दर भने घट्न थालेको देखिएको छ । स्वास्थ्य विज्ञहरुले ओमिक्रोनको संक्रमण एकै पटक उकालो लाग्ने र सोही गतिमा ओरालो लाग्ने बताएका थिए । मन्त्रालयका अनुसार बुधबारको तुलनामा सङ्क्रमण दर थोरैले घटेको छ । बुधबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण दर ५२।६ प्रतिशत रहेकोमा बिहीबार यो घटेर ४७।९ प्रतिशत पुगेको छ । एन्टिजेन परीक्षणमा भने सङ्क्रमण दर ३४।७ प्रतिशतबाट बढेर ३५।२ प्रतिशत पुगेको छ ।

देशभर १२ हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २ हजार २८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६४९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यो पनि, लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको लोक सेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीले अन्नपूर्णलाई जानकारी दिए। कर्मचारी र विद्यार्थीमा कोभिड देखिन थालेपछि आयोगले परीक्षा स्थगित गरेको हो। यसअघि बुधबार लोकसेवा आयोग बागमती प्रदेशले माघ ८ गतेदेखि संचालन हुने परीक्षा स्थगित गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्