वीरगन्जमा भाइरस संक्रमणको तेश्रो लहरमा पहिलो पटक एकको मृत्यु



वीरगन्जमा कोरोना भाइरस संक्रमणको तेश्रो लहरमा पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत बाराको महागढी नगरपालिका- ६ का ५० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।

वीरगन्जकै तराइ हस्पिटलबाट बिहीबार राति साढे ८ बजे रिफर भइ आएका ती संक्रमित पुरुषको उपचारका क्रममा राति पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

डाक्टर सिंहका अनुसार खोकी र दमको समस्या भएपछि ती पुरुष उपचारका लागि बिहीबार दिउँसो तराइ हस्पिटलमा भर्ना भएका थिए।निमोनियाले ग्रस्त ती पुरुषको उपचारका क्रममा तराइ हस्पिटलमै एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि ती संक्रमित पुरुषलाइ राति साढे ८ बजे नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। डाक्टर सिंहका अनुसार मृत्यु भएका ती पुरुषले कोभिडविरुद्धको खोप लगाएका थिएनन् ।

कोरोनाको तेश्रो लहरमा वीरगन्जमा पहिलो पटक बिहीबार राति कोरोना संक्रमितको मृत्यु भएको डाक्टर सिंहले बताए। यसअघि गत असार २७ गते नारायणी अस्पतालमा उपचाररत पर्साको सखुवा प्रसौनी गाँउपालिका १ की ६० वर्षिया संक्रमित महिलाको मृत्यु भएको थियो। त्यसपछि यता वीरगन्जमा कोहि पनि संक्रमितको मृत्यु भएको थिएन। वीरगन्जमा कारोनाको पहिलो लहरमा ८६ जनाको र दोस्रो लहरमा ३४१ जनाको मृत्यु भएको थियो।

नारायणी अस्पतालमा हाल ७ जना संक्रमित उपचाररत रहेका छन्। कोभिड संयोजक डाक्टर सिंहका अनुसार नारायणी अस्पतालको कोभिड वार्डमा बिहीबार एकै दिन ७ जना संक्रमित भर्ना भएका छन्। तीमध्ये एक जनाको भने उपचारका क्रममा बिहीबार नै राति मृत्यु भएको हो। अहिले अस्पतालमा उपचाररत ७ जनामध्ये १ जनालाई अक्सिजनको सपोर्ट दिएर राखिएको र अरु ६ जना संक्रमितको अवस्था सामान्य रहेको डाक्टर सिंहले जानकारी दिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्