नदी दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता




काभ्रेपलाञ्चोक : भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुबैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् । शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरुका आफन्तले गरेका छन् ।

परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए । फुयाँलको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी छ । “उनीहरु शङ्कास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्