नेपालमा आज सङ्क्रमणको नयाँ रेकर्ड, १६ जनाको मृत्यु




नेपालमा शनिवार लगातार पाँचौँ दिन १०,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा १०,२५४ जनामाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै कारण १६ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो ।

अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२,००० नाघेको छ। विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ। अहिलेसम्म नेपालमा ११,६५१ जनाको कोभिडका कारण मृत्यु भएको छ जुन कुल सङ्क्रमितको १.४ प्रतिशत हो।

नयाँ सङ्क्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन् ।

शनिवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १४,४६२ वटा परीक्षण पीसीआर विधिबाट र ५,७२५ वटा एन्टिजन विधिबाट कुल २०,१८७ परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५६.८ प्रतिशतमा र एन्टिजन परीक्षणमा ३५.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

हाल देशभरि सङ्क्रमितको सङ्ख्या ७२,८६२ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ। सक्रिय सङ्क्रमितमध्ये ३४,१५९ जना काठमाडौंमा, ८,२२० जना ललितपुरमा र ४,६४५ जना भक्तपुरमा छन्। विगत २४ घण्टामा काठमाडौंमा ३,७६२ जना, ललितपुरमा १,११० र भक्तपुरमा ४३४ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

त्यस्तै मोरङमा २७३ जना, सुनसरीमा २१२ जना र कास्कीमा ४०० जना नयाँ सङ्क्रमित थपिएका छन्। अहिले आईसीयूमा २१० जना र भेन्टिलेटरमा ३७ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ७०८ रहेको छ। नेपालमा कुल सङ्क्रमितमध्ये ९०.७ प्रतिशत निको भएका छन्। अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्