‘हाइपर फन्ड’ नेटवर्किङको अर्को धन्दा



काठमाडौं : कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गर्‍यो। तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन। अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ। डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण भएको छ। कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन्। यो फन्डमा भएको अन्धाधुन्ध लगानीले पनि मुलुकमा आर्थिक संकट निम्तिएको जानकारहरू आशंका व्यक्त गर्छन्।

के हो हाइपर फन्ड ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो। यसले वस्तु तथा सेवाको बिक्री भने गर्र्दैन। तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ। हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो। परिवर्तनीय (कन्भर्टिकल) बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिन्छ। एप डाउनलोड गरेर एकाउन्ट क्रेट गर्नुपर्छ। एकाउन्ट बनाएपछि ३ सय हेजयु (३ सय अमेरिकी डलरबराबर ३९ हजार नेपाली रुपैयाँ) लगानी गर्नुपर्छ।

हाइपर फन्ड गैरकानुनी बिजनेस हो। नेपालसहित कुनै पनि देशले यसलाई अनुमति दिएका छैनन्। तैपनि नेपालका कुनाकाप्चादेखि विश्वासका धेरैजसो देशमा हाइपर फन्डको चर्चा चुलिएको छ। पोर्चुगलमा बस्ने हाइपर भर्सका टिम लिडर योगेन्द्रकुमार छन्त्यालले कम्युनिटी बनाएर असीमित पैसा कमाउन सकिने बताउँछन्।

त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले १ सय ८० प्रतिशत प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता गरिन्छ। सुरुसुरुमा लगानी गर्नेले केही प्रतिफल चाखेजस्तो भए पनि हाइपर भर्सबाट ठगिने सम्भावना प्रबल देखिन्छ। यसले कुन क्षेत्रमा लगानी गर्छ र लगानीकर्तालाई प्रतिफल दिन्छ भन्ने खुलाइएको छैन। नयाँ व्यक्ति सदस्य बनाएर पुरानालाई प्रतिफल दिएजस्तो गर्ने र धेरै सहभागी भएपछि सर्वसाधारण ठग्ने नियत देखिन्छ। यसमा जति बढी संलग्न हुन्छन्, उति फस्ने, लगानी डुब्ने खतरा हुन्छ।

हाइपर फन्ड (भर्स) लगानीसम्बन्धी कुनै एउटा कम्पनीले विकास गरेको प्रच्छन्न मुद्रा (क्रप्टो करेन्सी) हो। तर यो कतै दर्ता छैन। यो कसैको नियमनको दायरामा पनि छैन। नाम मात्रको कम्पनी रहेको हुन सक्ने आशंका गरिएको छ। तर हाइपर फन्ड (भर्स)ले विकेन्द्रित वित्तीय पर्यावरण विकास गरेको दाबी गरेको छ। क्रिप्टो करेन्सीका रूपमा व्यापक कारोबार गर्ने उपयुक्त मैदान बनेको टिम लिडर छन्त्याल बताउँछन्।

सञ्जाल विस्तार गर्न हाइपर फन्डवालाहरू जुम बैठकमा सक्रिय देखिन्छन्। सम्भावित व्यक्तिहरूलाई होटलमा दारु पार्टी गरेर भए पनि सदस्यता विस्तार गरी ठगी गरिरहेको पाइन्छ। ‘कामै नगरे पनि मेम्बरसिप प्याकेजबाट कमाइने र सदस्य बनाएर जति पनि कमाउन सकिन्छ’ छन्त्याल भन्छन्।

यसरी दिइन्छ आश्वासन
यस कम्पनीको अवधि २० महिना (६००) दिनसम्म दैनिक रिवार्ड पाउने आश्वासन दिइन्छ। ३ सय डलरको प्याकेज खरिदमा २० महिनासम्म ९ सय डलर आम्दानी हुन्छ। पर डलरको हिसाबको आधारमा आम्दानी हुन्छ। ३ सय डलर लगानी गर्दा दैनिक १.५ प्रतिशत र ५ सय डलर लगानी गर्दा दैनिक २.२५ प्रतिशत आम्दानी हुन्छ। एक हजार डलर लगानी गर्दा दैनिक ५ यूएस डलर आम्दानी हुन्छ। यसरी झरेको रिवार्ड ५० डलर जम्मा भएपछि फेरि लगानी गरेर आम्दानी गर्न सक्नुका साथै झिक्न पनि सकिने आश्वासन दिइन्छ। लगानी गर्ने सदस्य थप्न सके कम्पनीको तर्फबाट कमिसन पनि प्राप्त हुन्छ। जसलाई कम्युनिटी रिवार्ड भनिन्छ।

कामबाट बचेको समय सदुपयोग गरी एक्स्ट्रा आम्दानी गर्न सकिने हाइफर भर्सवालाहरू भन्छन्। यो कम्पनी एकदमै बलियो र भरपर्दो भएको दाबी गर्छन्। कम्युनिटी बनाउँदै लगिएमा २० महिनामा आउने फाइदा २÷३ महिनामै कमाउन सकिने बताइन्छ। तीन सय डलरको ९ सय, ५ सय डलरको १ हजार ५ सय र १ हजार डलरको ३ हजारबराबरको नगद कम्पनीले उपलब्ध गराउने उनीहरूको दाबी छ। कम्युनिटी रिवार्ड, भीआईपी रिवार्डबाट ग्लोबल रिवार्ड पाइने योगेन्द्र बताउँछन्। यसबाट मासिक तलब आउने उनले जुम बैठकमा बताए। क्रिप्टोकरेन्सीमा बिटक्वाइन नेपालमा छिट्टै वैधानिक हुने उनले विश्वास दिलाए।

कसरी हुन्छ भुक्तानी ?

यो कम्पनीको हाइपर बिसी बैंक रहेको बताइन्छ। जसको एटीएम कार्ड मगाएर सजिलै प्रयोग गर्न सकिने आश्वासन दिइन्छ। रिवार्डलाई क्यासमा कन्र्भट गर्न सकिने योगेन्द्र बताउँछन्। इमेलमा ६ वटा अंकको पिन आउँछ। ७ देखि २४ घण्टासम्म क्यासमा अथवा क्रिप्टो करेन्सीमा बदलेर राख्न सकिने बताइन्छ।

१ सय ७६ देशमा एटीएम कार्ड प्रयोग गर्न सकिने र जुन देशमा गयो, त्यही देशको करेन्सी निकाल्न सकिने हाइपरवालाहरू बताउँछन्। भिडियोमा समेत पैसा निकालेको सामाजिक सञ्जालमा भेट्न सकिन्छ।

१८० प्रतिशतसम्म फाइदा ?

सुरुमा बनेको सदस्यको रेफरबाट निःशुल्कमा आईडी बनाउन मिल्छ। आईडी बनाउन कुनै झन्झट हुँदैन। अनलाइनमा जिमेल बनाएर सदस्य बनेपछि आफ्नो इच्छाअनुसार स्किम किन्न सकिन्छ। लगानी गरेको भोलिपल्टबाट ०.५ प्रतिशत कमाइ हुन्छ। लगानीको १ सय ८० प्रतिशतसम्म फाइदा हुने आश्वासन दिइन्छ। आम्दानी ५० डलरको दरले साँवामा थप्दै लगेमा एक वर्षमा १३ गुणा आम्दानी हुन्छ। उदाहरणको रूपमा ३ सय डलर लगानी गरेमा दैनिक आउने ब्याज ५० डलर पुगेपछि साँवामा थप गर्दै जाँदा ३ हजार ८ सय डलर हुन्छ। यति पुगेपछि दैनिक ९ डलर आम्दानी हुन्छ।

को को छन् संलग्न ?

हाइपर फन्डको टिम लिडरका रूपमा योगेन्द्रमिलन छन्त्याल छन्। मनोज तामाङ, अभि श्रेष्ठ, प्रति राई, डिजोज न्यौपाने, कवि तामाङ, नवराज न्यौपाने, राजकुमार थापा, वीरबहादुर तामाङलगायत दुई जनाभन्दा बढी अग्रस्थानमा देखिएका छन्। सन् २०१४ मा विदेशीले चलाइरहेको हाइपर भर्स (हाइपर फन्ड) दुई वर्षदेखि छन्त्यालले लिड गरिरहेका छन्। कम्युनिटी रिवार्डबाट डरलाग्दो कमाइ गर्न सकिने छन्त्याल बताउँछन्। नेपालमै रहेका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू यसमा संलग्न रहेको पाइन्छ। आकर्षक गन्तव्य मुलुक दक्षिण कोरिया, इजरायलदेखि खाडी मुलुकसम्मका नेपाली यस्तो नेटवर्किङ बिजनेसमा संलग्न छ। त्यस्तै युवा तथा महिला यस व्यवसायमा जोडिएका छन्। इजरायलमा कार्यरत ताप्लेजुङकी इन्दिरा प्रसाईं सुवेदीले नेपालका विभिन्न क्षेत्रका व्यक्ति यसमा संलग्न भएको बताइन्।

कम्युनिटीका लागि क्रिप्टो करेन्सीमा काम गरेकाले सहयोग गरेको छन्त्याल दावी गर्छन्। हाइपर भर्स ग्लोबल नेपालमा शिवराज जीएमले दिनप्रतिदिन सयौं नेपालीहरू जोइन हुने क्रम जारी गरेको बताएका छन्। धेरैले प्यासिभ रिवार्ड र कम्युनिटी रिवार्ड पाएको उनको भनाइ छ। उनका अनुसार कम्पनीको विश्वास गरेर मेम्बरसिप प्याकेज पनि बढाउँदै लगेको उनले उल्लेख गरेका छन्।

सरकार बेखबर !
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले हाइपर फन्डबाट ठगिएको उजुरी अहिलेसम्म नआएको बताए। ‘कोही ठगियौं भनेर अहिलेसम्म आएका छैनन्’, उनले भने। कुनै प्रहरी युनिटमा उजुरी आउनासाथ अनुसन्धान अघि बढाउने उनले बताए। सर्वसाधारण ठगिएको उजुरी नआए पनि ठगिने जोखिम उच्च छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट हाइपर फन्डमा गरिएको लगानी जोखिमपूर्ण भएको बताउँछन्। ‘यो गैरकानुनी हो,’ भट्टले भने, ‘हामीले अनुमति दिएका छैनांै। कसैले लगानी गरे फस्ने जोखिम हुन्छ।’ ‘प्रलोभनमा परी नेटवर्किङ व्यवसायमा संलग्न हुँदा भोलि धोका हुन सक्छ’, प्रवक्ता भट्टले भने, ‘त्यसतर्फ बेलैमा सचेत रहनुहोस्।’

सरकारले अत्यावश्यक सामान खरिद गर्नका लागि ५ सय डलरसम्म कार्ड प्रयोग गर्न छुट दिएको छ। यस्तो डलर कार्डको गलत प्रयोग गरी हाइपर फन्डमा लगानी भइरहेको अनुमान गर्न नसकिने राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन्। आकर्षक आम्दानीको प्रलोभन पारेर सहरमा मात्र होइन गाउँगाउँमा हाइपर फन्ड छिरिसकेको छ। नजाँनिदो हिसाबले गाउँघरतिर हाइपर फन्डको आतंक बढ्दो छ। छोटो समयमै दोब्बर आम्दानी हुने, कामै नगरी पैसा लगानी गरेको भरमा प्रशस्त आम्दानी भइराख्ने भन्दै नेटवर्किङवालाले सर्वसाधारणबाट पैसा असुलिरहेका छन्। छोटो समयमा मनग्य आम्दानी हुने प्रलोभनमा परेर कतिपयले बैंकमा राखेको निक्षेप पनि झिक्दै हाइपर फन्डमा लगानी गरिरहेको पाइएको छ।

नेपाल राष्ट्र बैंकले केही समयअघि नेटवर्किङ बिजनेस गैरकानुनी भएको भन्दै कारोबार नगर्न निर्देशनसमेत जारी गरेको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि नेटवर्किङ बिजनेसमा लगानी नगर्न सूचना जारी गरेको थियो। तर हाइपर फन्डलगायत नेटवर्किङ बिजनेसमा लगानी गर्ने क्रम रोकिएको छैन्।
सर्वसाधारणले आकर्षक ब्याजको लोभमा हाइपर फन्डमा लगानी गरेको हुन सक्ने जानकारहरू आशंका गर्छन्। एक लाख लगानी गरेर वर्षदिन नपुग्दै दुई लाख कमाउन सकिने आश्वासन पाएकाले कतिपयले बैंकबाट विभिन्न शीर्षकमा कर्जा लिएर यस्तै नेटवर्किङ बिजनेसमा लगानी गरेको हुन सक्ने विज्ञहरू बताउँछन्। नेटवर्किङ बिजनेसका विभिन्न रूप छन्। तर अहिले गाउँघरसम्मै हाइपर फन्ड पुगिसकेको छ।

दाङका घरजग्गा व्यवसायी विशाल सुवेदीले पैसा कमाउने लोभमा सर्वसाधारणले बैंकबाट मात्र नभई गाउँघरमा साहु, महाजनमार्फत ३६ प्रतिशतसम्म ब्याजमा ऋण काढेर हाइपर फन्डमा लगानी गरेकोे हुन सक्ने बताउँछन्। हाइपरमा लागेका उनकै साथीभाइहरूले लगानी गर्न सुझाए पनि प्रतिफलको ग्यारेन्टी नभएकाले लगानी नगरेको उनी बताउँछन्।
यसबाट धेरैको पैसा डुब्ने खतरा देखिएकाले बेलैमा सजग हुनुपर्ने सुवेदी बताउँछन्। तर लगानी गरेर धेरथोर प्रतिफल चाखिसकेकाको ‘मिठा’ कुरा सुनेर नयाँ लगानीकर्ता आकर्षित हुन थालेका छन्। नेटवर्क विस्तार गरी सदस्यता बढाउन सुरुमा लगानी गर्नेहरूले प्रतिफल पाए पनि विस्तारै नआउने जोखिम बढ्ने खतरा उत्तिकै छ।

मुनाफाको कुनै ग्यारेन्टी नभए पनि ब्याजको लोभले धेरैले पैसा हालेको पाइएको छ। पैसा गुम्ने खतरा भए पनि सर्वसाधारणको मनमा आम्दानी हुने देखिएको भन्दै पैसा जम्मा गरिहाल्ने प्रवृत्ति बढ्दै गएको जानकारहरू बताउँछन्। नेटवर्किङ व्यवसायीले ‘जुम’ बैठकबाट मोटिबेसन गर्दै पैसा हाल्न लगाउने गरेको पाइएको छ। हरेक दिन नेपाली समयअनुसार बेलुकी पौने ७ बजे जुम बैठक हुने गरेको छ। प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की स्वदेश र विदेशमा रहेका नेपालीले हाइपर फन्डमा लगानी गरेकाले बैंकमा तरलता अभाव भएको र रेमिट्यान्स पनि घटेको बताउँछन्। अन्नपूर्ण पोष्टमा यो समाचार तुलसी सुवेदीले लेखेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्