ओमिक्रोनले नै कोभिड महामारी अन्त्य हुँदै, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने : डब्लूएचओ




एजेन्सी :

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।

यस्तै ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन्। खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ।

सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ। दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन्।

यसले अमेरिका र युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ। यसले मानिसहरू सङ्क्रमित भएपछि काममा वा विद्यालयमा बिदा बस्दा हुने समस्या कम गर्ने बताइएको छ।

तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ। उसले खोप नलगाएका मानिसहरूमा यो भेरिअन्ट अझै पनि घा’तक रहेको बताएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्