निर्वाचन आयोगले नेकपा एमालेलाई पनि पार्दैछ यसरी अप्ठेरो, चुनाव चिन्ह सुर्य परिवर्तन हुनसक्ने



काठमाडौ । निर्वाचन आयोगले राप्रपालाई चुनाव चिन्ह गाई परिवर्तन गर्न तथा पार्टीको विधानवाट हिन्दु राज्य र राजसंस्था हटाउन निर्देशन दिएको छ । राष्ट्रिय चिन्ह कुनै पनि पार्टीले चुनाव चिन्हका रुपमा प्रयोग गर्न नपाउने भएकाले राप्रपालाई यस्तो निर्देशन दिएको आयोगको पत्रमा उल्लेख छ । त्यस्तै हिन्दु राज्य र राजसंस्था नेपालको प्रचलित कानुन विपरित भएकाले पनि विधानवाट हटाउन भनेको छ ।

राप्रपा मात्र होइन निर्वाचन आयोगको यस्तो निर्देशनले अब नेकपा एमाले पनि अप्ठेरोमा पर्ने भएको छ । एमालेले पनि चुनाव चिन्ह सुर्य नपाउने संकेत देखिएको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र वरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ । आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ ।

राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ । आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ । एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ ।

आयोगले दिएको यस्तो निर्देशन विरुछ राप्रपा अदालत जाने भएको छ । आयोगले भन्दैमा पार्टीको राजसंस्था र हिन्दु राज्यको नीति परिवर्तन गर्न नसक्ने जवाफ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बताइसकेका छन् । राप्रपा अदालत गयो र अदालतको निर्णय आयोगको पक्षमा आयो भने राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने भएको छ ।

अब चुनाव चिन्हको विषयमा अदालतमा अलमल हुने भएकाले पनि प्रतिनिधि सभा चुनाव धकेलिने सम्भावना रहेको बुझिएको छ । अदालतले यसबारे गर्ने निर्णयको ढिलोचाँडोले प्रतिनिधि सभा चुनाव मात्र नभई स्थानीय चुनाव र प्रदेश सभा चुनावको मिति समेत प्रभावित हुने सम्भावना छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्