आफैले बनाएको नियमको यसरी धज्जी उडाए मन्त्री साहले



काठमाडौ । कोभिड महामारी बढेपछि सरकारले केही मापदण्ड सहितका नियम लागू गरेको छ । सर्वसाधारणहरुले सकेसम्म त्यसको पालना गरेका छन् । तर नियम बनाउने मन्त्रीले नै नियमको धज्जी उडाएका छन् । सरकारले कोभिड महामारी बढेको भन्दै सांस्कृतिक कामहरुमा निश्चित ब्यक्तिलाई मात्र सहभागी गराउन मापदण्ड तोकेको छ । विवाहमा २५ जना भन्दा बढी सहभागी गराउन नमिल्ने भएपनि मधेस प्रदेश सरकारका सूचना, सञ्चार तथा संघीय मामिलामन्त्री भरतप्रसाद साहले पाँच हजारभन्दा बढी निमन्त्रणा कार्ड वितरण गरेर मापदण्डको खुलेआम धज्जी उडाएका छन ।

१३ माघमा मन्त्री साहकी छोरी मेघा साहको विवाह रौतहट निवासी रोमन साहसँग हुँदै छ । तर मन्त्री साहले पाँच हजारभन्दा बढी कार्ड वितरण गरेर भोजमा सहभागी हुन निमन्त्रणा गरेका छन् । साहले शुभचिन्तकहरूलाई मंगलबारको प्रीतिभोज र बुधबार हुने पूजा एवं मटकाको अवसरमा जसरी पनि पार्टीमा सहभागी हुन आग्रह गरेका छन् ।

सरकारको नेतृत्वमा मन्त्रीजस्तो पदीय मर्यादा र जिम्मेवारीलाई ख्याल नै नगरी मन्त्री साहले स्वयं कोरोना मापदण्ड र आचारसंहिताको खिल्ली उडाउँदा निक्कै आलोचना भएको छ । मंगलबार बिहान १० बजेदेखि मन्त्री साहले दिएको भोजमा झन्डै २५ सयभन्दा बढी मानिस गौशाला नगरपालिकाको फुल्कास्थित उनको निवासमा सहभागी भएका थिए । ञहामी जाँदा निक्कै भिड थियो, मानिसहरूले कुनै मापदण्डको ख्याल गरेका थिएनन्,झ भोजबाट फर्किएका एकजना सहभागीले भने ।

आफै नियम कार्यान्वयन गराउने निकायको जिम्मेवार पदमा रहेका मन्त्री साहको उनकै पार्टी माओवादी केन्द्रमा समेत आलोचना भएको छ । आचारसंहिताविपरीत मन्त्री जस्तो व्यक्तिले खिल्ली उडाउँदा लोकतन्त्र र संविधानकै विषयमा अनेकौ प्रश्नचिन्ह खडा भएको नेताहरूले विश्लेषण गरेका छन् ।कुनै पनि माहामारीको समयमा सरकारले निर्धारण गरेको मापदण्डविपरीत कसैले अटेर गरेमा रोग संक्रमण ऐन २०२० बमोजिम कडा कारबाही हुने प्रावधान छ । तर मन्त्रीले नै ऐन हातमा लिएर खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकाय मौन देखिएको छ ।

यस विषयमा कुराकानी गर्न गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसग सम्पर्क गर्न खोज्दा उनीहरूसँग सम्पर्क हुन सकेन ।मन्त्रीले कोरोनाको जोखिमबाट बच्न सर्वसाधारणलाई सचेत गराउनुको सट्टा हजारौ भिड जम्मा गरेर रोग फैलाउन सहयोग गरिरहेकोसमेत आरोप उनीमाथि छ । कोरोना बढेसँगै अहिले जिल्लामा भिडभाड हुने ठाउँहरूमा चलपहल कम भएको छ । मन्त्री साहको पालिकामा अझै ४५ प्रतिशत सर्वसाधारण खोप लगाउनबाट वञ्चित छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्