आज नेपालमा एकैदिन १५ जनाको मृत्‍यु, हजारौं संक्रमित थपिए



काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो । यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । बुधबारको तथ्यांकसँगै देशभर संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ ।

नेपालमा अहिले ओमिक्रोन भेरिअन्टका कारण भाइरस महामारीको नयाँ लहर फैलिरहेको विज्ञहरूको भनाइ छ। विगत दुई सातादेखि दैनिक हजारौँ मानिसमा कोभिड पुष्टि भइरहेको तथ्याङ्कले देखाउँछ।

कसैकसैमा रुघाखोकी तथा ज्वरोजस्ता लक्षण देखिए पनि पीसीआर वा एन्टिजन परीक्षण गर्दा कोभिड नदेखिने तर त्यसको केही दिनपछि पुनः परीक्षण गर्दा भने भाइरस पुष्टि हुने गरेको चर्चा सामाजिक सञ्जालमा भएको देखिन्छ।

धेरै मानिसले दोहोर्‍याएर परीक्षण नगर्दा र एकान्तवासमा नबस्दा सङ्क्रमण फैलिनै डर हुने विज्ञहरूले औँल्याएका छन्। यदि आफू निकटस्थ कसैलाई कोभिड देखिएमा वा समान लक्षण देख पारेमा आफू पनि सङ्क्रमित भए सरह ठानेर एक्लिएर बस्नु हितकर हुने उनीहरूको सुझाव छ।

कतिपय अवस्थामा कोभिडका लक्षण देखिए पनि परीक्षणको नतिजामा भाइरस पुष्टि नहुनुको कारण सङ्कलित नमुनामा त्यसको मात्रा पत्ता लाग्नेगरी पर्याप्त नभएको तथा खोप लगाएका मानिसमा भाइरसको सङ्ख्या धेरै नबढेको हुनसक्ने ठानिएको छ।

“अघिल्ला लहरमा लक्षण देखिनुभन्दा एक-दुई दिनअघि नै परीक्षणमा पोजिटिभ देखिन्थ्यो, यसपटक भने भाइरस शरीरमा छिरेको भए पनि त्यहाँ छिट्टै शरीरमा धेरै भाइरसहरू उत्पादन गर्न सक्दैन,” सङ्क्रामक रोगविज्ञ डा. अनूप सुवेदीले भने।

“यसअघि भइसकेका सङ्क्रमण वा खोपको प्रभावका कारण प्रतिरोधी क्षमता बलियो भएकाले त्यस्तो भएको हुनसक्छ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्