झुक्काएर विवाह गरेपछि फरार रहेका श्रीमान् खोज्दै दुई छोरी बोकेर रुदै बागलुङ आईन यी महिला



गलकोट – एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान् खोज्दै भारतको चेन्नैदेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आएकी छन् । सन् २००२ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरा–१ टाहरास्थित प्रकाश शर्मासँग भारतमा विवाह गरेकी भारतीय नाम भानमोझी (नेपाली नाम मीना शर्मा) अहिले श्रीमानकाे खोजी र न्यायको लागि बागलुङ आएकी हुन् ।

भारतमा झुक्काएर विवाह गरेपछि भानमोझीले दुई छोरी गङ्गालक्ष्मी शर्मा र ऐश्वर्य शर्मालाई जन्म दिएकी हुन् । अहिले जेठी छोरी १८ वर्ष र कान्छी छोरी १७ वर्षको भइसकेकी छन् । उनीसँग न त विवाह गरेको प्रमाणपत्र नै छ, न त नेपाली नागरिकताको प्रमाण पत्र नै । प्रहरी र प्रशासनको सहयोगमा दुई छोरीको जन्मदर्ता र जेठी छोरीको नागरिकता बनाए पनि भानमोझीसँग विवाह दर्ता र श्रीमानकाे नाममा नागरिकता पाएकी छैनन् ।

“श्रीमानले म अनाथ हो, भारतमा व्यवसाय छ भनेर मलाई झुक्काएर सन् २००२ मै भारतको चेन्नैमा विवाह गरेको थियो, त्यपछि उसले आफ्नो ठाउँ–ठाउँमा व्यवसाय गर्ने भन्दै आउँदै फर्कंदै गर्ने गरेको पाइयो”, श्रीमती भानमोझीले भनिन्, “पछि बुझ्दै जाँदा त आफू बाहेक अन्य तीन जनासँग समेत विवाह गरिसकेको पत्ता लाग्यो, हामी यसअघि पनि उसको घर कुश्मिशेरामा आयौं, श्रीमानकाे बाबु आमाले उसलाई लुकाए, हामीलाई निकै दुःख दिएपछि पुनः भारत फर्केका थियौं ।”

उनले थप्दै भनिन्, ‘अहिले एक वर्षदेखि उहाँ सम्पर्कमा हुनुहुन्न, दुई छोरी र श्रीमान्को साइली श्रीमतीकी छोरा समेत पाल्दै आएको छु, मेरो जिन्दगी त वर्वाद भयो, तर मेरो दुई छोरी र अर्की श्रीमतीको छोरालाई जन्मदर्ता र नागरिकता दिलाउनु छ, न्यायको लडाइँका लागि होटलमा काम गर्दै लडिरहेको छु।’ श्रीमानले झुठाे बोल्दै विवाह गर्दै छोराछोरी पाउँदै हिँडेको उनले बताइन्। उनले छोरीलाई पाल्न निकै समस्या भएको भन्दै छोरीहरुको राम्रो पढाइ भए पनि अहिले होटलमा काम गरेर गुजारा चलाउँदै आएको बताइन् ।

छोरी ऐश्वर्य शर्माले बाबाकै कारण पढाइबाट वञ्चित भएको जानकरी दिइन् । “बाबाले मम्मीलाई निकै दुःख दिनुभयो, अहिले एक व्यक्तिका कारण हाम्रो परिवार नै तहसनहस भएको छ”, छोरी ऐश्वर्य भनिन्, “बाबाले आमा बाहेक अन्य तीन स्थानमा विवाह गरेको पत्ता लगाइयो, बागलुङमा हजुरबुबा पद्मनाथ शर्मालेसमेत हामीलाई यहाँ बस्न दिनुहुन्न, काम गरेर खानसमेत दिनुहुन्न, दिदी गङ्गालक्ष्मी शर्माले भारतमा ११ कक्षामा विज्ञान विषय लिएर अध्ययन गदागर्दै छोडेर अहिले बागलुङको एक होटलमा काम गर्नुहुन्छ, दिदीको डाक्टर बन्ने सपना थियो ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्