संक्रमण पुष्टि भएका ओली सार्वजनिक कार्यक्रममा, विश्व प्रकाशले गरे यस्तो कडा टिप्पणी


banner

काठमाडौ । कोभिड संक्रमण भएकै अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ । उनी संक्रमित अवस्थामा पत्रकार सम्मेलनमा सहभागी भएका थिए । कोभिड पुष्टि भएपछि एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो कार्यक्रममा ओलीले सम्बोधन गरेका थिए ।

कोभिड संक्रमित भएपछि आइसोलेसनमा बस्नुपर्ने नेता कार्यकर्ताहरु अघि पछि लगाउँदै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि उनको आलोचना भएको हो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवारीको पराकाष्ठा नाघेको टिप्पणी गरेका छन्।

ओली संक्रिमत भएकै अवस्थामा सार्वजनिक कार्यक्रममा नेता–कार्यकर्तामाझ देखिएपछि शर्माले आलोचना गरेका हुन्। महामन्त्री शर्माले कोभिड भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नु सबैको जिम्मेवारी भएको पनि एमाले अध्यक्ष ओलीलाई स्मरण गराएका छन्।

‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो’, महामन्त्री शर्माले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाडसमेत हो।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली कोभिड संक्रमण भएको चौथो दिनमै बिहीबार सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। उनलाई माघ ९ गते कोभिड संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक गरिएको थियो।

कांग्रेस महामन्त्री शर्माले आफू संक्रमित भएपछि आइसोलेसनमा बसेर निको भएपछि सांगठनिक काममा फर्किएको पनि उल्लेख गरेका छन्। ‘यही ज्ञान र विज्ञान आत्मसात् गरेर संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु,’ उनले लेखेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्