ओली र देउवाको कुरा मिल्यो, प्रचण्ड र नेपाललाई फकाउन देउवाले बोलाए वालुवाटार




काठमाडौ । सरकारलाई अब निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व छ । तर स्थानिय तहको निर्वाचन पहिला गर्ने वा सबै निर्वाचन एकै पटक गर्ने भन्नेमा सत्ताधारी दलहरुबीच कुरा मिलेको छ्रन । नेकपा एमालेले पहिला स्थानिय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरवहादुर देउवालाई दवाव दिइरहेको छ । उता देउवा वाहेक सत्तामा रहेका अन्य दुई दलका नेताहरु भने सबै निर्वाचन एकै पटक गर्नुपर्ने अडानमा छन् ।

यसै बीच सत्ताधारी तीन दलका प्रमुखहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् ।

प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराएका थिए । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधान अनुसार बनाउने बताइरहेका छन् ।

उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् । एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो बस्दैछ । देउवाले दिउँसो ३ बजे बोलाएको बैठक भर्चुअल माध्यमबाट बस्नेछ । बैठकमा कार्यसम्पादन समिति गठन सम्बन्धी टुङ्गो लगाइने भनी कार्यसूची रहे पनि राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे पनि छलफल हुने बुझिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्