उपत्यकाका सिडिओहरु फेरी बैठकमा, यस्तो नयाँ ब्यवस्था लागू गर्दै



काठमाडौ । काठमाडौ कोभिडको हट स्पट बने पछि दिनहुँ नयाँ नियम लागू भएका छन् । सार्वजनिक स्थलमा जाँदा वा सार्वजनिक गाडी चढ्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । ब्यवसाय संचालन गर्नेहरुले पनि सरकारले तोकेको स्वास्थय मापदण्ड पालना गर्नुपर्ने छ । कोभिड संक्रमणको संख्या उकालो लाग्ने क्रम नरोकिएपछि फेरी काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओहरूको आज संयुक्त बैठक बस्दै छ ।

कोभिड महामारी रोकथाम गर्न भन्दै सवारीसाधनमा जारी जोरबिजोर प्रणाली र संक्रमणको समीक्षा गरी नयाँ आदेश जारी गरिने तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बैठक बसेर आजै नयाँ आदेश जारी गरिने जानकारी दिए । ‘‘बैठक दिउँसो ३–४ बजे बस्छौँ । अहिले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग छलफल भइरहेको उनले बताए ।

प्रजिअ रिजालका अनुसार जोरबिजोरले सार्वजनिक सवारीमा बढाएको भिडभाडको गुनासोबारे छलफल भइरहेको छ । ‘‘सर्वसाधारणलाई सहजीकरण गरी भिडभाड कम गर्ने गरी नयाँ आदेश जारी गर्नेछौँ । सबै किसिमका सार्वजनिक सवारीसाधन सञ्चालन भइरहेको बेलामा कसरी भिडभाड कम गर्न सकिन्छ भन्ने निकाससहितको प्रावधान ल्याइनेछ,” प्रजिअ रिजालले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजाल र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालबीच यस विषयमा फोन वार्ता भएको छ । यातायात ब्यवसायीले जोर विजोर प्रणालीले थप भिड बढाएको बताएका छन् । घरमा भएका साधन पनि जोर विजोर प्रणालीका कारण चलाउन नपाएपछि अत्यावश्यक काम उपचार गर्न पनि समस्या भएको सर्वसाधारणको पनि गुनासो छ ।

औषधी लिन वा अस्पताल जान आफ्नो घरको सवारी साधन प्रयोग गर्न नपाउँदा संक्रमितहरुलाई थप जोखिम हुने भन्दै विरोध गरिएको हो । महासचिव नेपालले यस वारेमा ‘काठमाडौंका सीडीओसँग फोन वार्ता भएको बताएका छन् । जनमानसमा भिडभाड बढी भयो । यसलाई पुनविर्चार गर्नुपर्ने हो कि भन्ने कुरा आफुले गरेको उनले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्