ओलीले गल्ती गरेकै हुन् ? उनको सचिवालय र सीडीओ कार्यालय के भन्छन्



बीबीसी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहिले सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । नेपाली कांग्रेसका महासचिव विश्व प्रकाश शर्माले त निकै कडा टिप्पणी समेत गरेका छन्। उनी कोभिड सङ्क्रमण भएर आइसोलेशनमा रहेकै समयमा एउटा सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए । त्यहाँ ठूलो संख्याका कार्यकर्ता उनको अघि पछि थिए । अहिले ओली माथि कारबाही गर्नुपर्ने माग उठेको छ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले ओलीलाई कानुन उल्लङ्घनको छुट नहुने भन्दै कारबाहीको माग गरेका छन्। तर उनको सचिवालयले चाहिँ ओलीले आइसोलेशनको अवधिपछि मात्रै घरबाहिर कार्यक्रममा निस्किएको दाबी गरेको छ।

नेकपा एमालेले माघ ९ गते पार्टी अध्यक्ष ओलीमा सङ्क्रमण पुष्टि भएको जानकारी सार्वजनिक गरेको थियो। उनको सचिवालयले ओलीलाई माघ ८ गते नै सङ्क्रमण पुष्टि भए पनि एक दिनपछि मात्रै सार्वजनिक गरिएको बताएको छ।

आइसोलेशनको अवधि पूरा नहुँदै बुधवार भक्तपुरस्थित ओली निवासनजिकै पार्टीको भातृ सङ्गठन युवा सङ्घले आयोजना गरेको कार्यक्रममा ओली उपस्थित भएका दृश्य तथा तस्बिरहरू सार्वजनिक भएपछि उनी विवादमा परेका हुन् ।

यसअघि ओमिक्रोन सङ्क्रमणको लहर सुरु हुँदै गर्दा सत्ताधारी नेकपा माओवादी केन्द्रले १,७०० सहभागतीबीच काठमाण्डूमा पार्टी महाधिवेशनको आयोजना गरेको थियो। पुस १८ गते सकिएको महाधिवेशनपछि माओवादीका अध्यक्षसहित शीर्ष नेताहरू धेरैलाई कोभिड सङ्क्रमण फैलिएको थियो।

कोभिड महामारी नियन्त्रणमा अधिकारीहरूले सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने गरेका छन्। उक्त ऐनको दफा ३ र ४ मा सङ्क्रामक रोग नियन्त्रणका लागि जारी गरिएको आदेश उल्लङ्घन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कै द वा रु १०० जरिवाना गर्न सक्ने उल्लेख छ।

तर २०७४ साल भदौमा संसद्‌बाट पारित भएर त्यसको एक वर्षपछि कार्यान्वयनमा आएको अपराध संहिताको दफा १०६ मा सरकारी निकायले सरुवा रोगको सम्बन्धमा जारी गरेको आदेश वा नियम उल्लङ्घन गरेमा छ महिनासम्म कै द र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

यस्तो आदेश उल्लङ्घन गरेका कारण कसैको ज्या न ग एमा ऐनको दफा १०४ बमोजिम सजाय हुने उल्लेख छ। उक्त दफामा नियतपूर्वक यस्तो कसुर गर्नेलाई अधिकतम दश वर्षसम्म कै द तथा एक लाख रुपैयाँ जरिवाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्ष कै द तथा ३० हजार जरिवाना गर्न सकिने उल्लेख छ।

एमाले अध्यक्ष ओलीको सचिवालयले भने उनले कोभिड आइसोलेशनको मापदण्ड उल्लङ्घन नगरेको दाबी गर्दै पाँच दिन आइसोलेशनमा बसेर मात्रै घरबाहिर निस्किएको दाबी गरेको छ। “जुन दिन घरअगाडि युवा सङ्घका साथीहरू आउनुभएको थियो त्यस दिन छ दिन पूरा भइसकेको थियो,” पूर्वप्रधानमन्त्री ओलीका सञ्चार संयोजक रामशरण बजगाईँले भने।

“अघिल्लो शनिवार उहाँको पोजिटीभ रिपोर्ट आयो। यो बिहीवारसम्म आइसोलेशनमा बस्ने उहाँको समय छ दिन पुगिसकेको थियो, अहिलेको प्रोटोकलअनुसार त्यसो गर्न पाइन्छ भन्ने कुरा भयो।” अमेरिका र बेलायतसहित कतिपय देशले आइसोलेशनको अवधि पाँच देशमा सीमित गरे पनि नेपालमा कम्तीमा एक साता आइसोलेशन अनिवार्य गरिएको छ।

‘कोभिडको लक्षण भएको वा सङ्क्रमण पुष्टि भएको सात दिन अनिवार्य आइसोलेसन बस्नुपर्ने’ स्वास्थ्य मन्त्रालयको मापदण्ड छ। ओलीको सचिवालयले उनलाई शनिवार नै सङ्क्रमण पुष्टि भएको बताए पनि यसअघि आइतवार मात्रै उनलाई सङ्क्रमण भएको जानाकारी सार्वजनिक गरिएको थियो।

बजगाईँले ओली सहभागी भएको कार्यक्रम बाहिरको नभई उनलाई स्वास्थ्य लाभ गर्न घरअगाडि नै आएको समूह भएको र ओलीले मास्क लगाएर कार्यक्रममा सहभागी भएको बताए।

भक्तपुरमा कोभिड नियन्त्रणका लागि माघ ७ गते कार्यान्वयनमा ल्याइएको सबैभन्दा पछिल्लो आदेशको १२ नम्बरमा कोभिडको लक्षण देखिएमा पाँच दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ।

जिल्ला प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गरेको भन्दै यो कार्यालयले त्यसयता १,२०० बढी सर्वसाधारणलाई जरिवाना गरिसकेको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रूद्रा देवी शर्माले एमाले अध्यक्ष ओली आइसोलेशनको नियम उल्लङ्घन गरेर कार्यक्रममा सहभागी भएको बारे कार्यालयमा उजुरी नआएको बताएकी छन् ।

“यसमा मलाई सोधिरहनुभएको छ मैले महानगरीय (प्रहरी) लाई के रहेछ बुझ्ननूस् भनेकी छु” सिडिओ शर्माले एमाले अध्यक्ष ओलीलाई पोजेटिभ भए वा नभएको र उनी सहभागी कार्यक्रम के थियो भन्नेबारे आफूले बुझ्न लगाएको जानकारी दिइन्।

ओलीलाई कारबाही हुन्छ त भन्ने जिज्ञासामा उनले भनिन्ः “सङ्क्रमण भइसकेपछि आइसोलेशनमा बस्ने हामी सबैको कर्तव्य दायित्व हुन्छ। मासमा भइरहेको छ त्यसलाई चाहिँ अहिले व्यक्ति आफैँले बुझ्नुपर्ने कुरा हुन्छ।” कार्यक्रम भइरहेको स्थलमा तत्कालै जानकारी नभएका कारण त्यसबारे तथ्य प्रमाणसहित कारबाही गर्न ‘गाह्रो’ हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्