अन्ततः नेपालमा ओमिक्रोन सङ्क्रमणको लहर ओरालो लाग्यो, आज सङ्क्रमित हुनेभन्दा निको हुने बढी



काठमाडौं । पछिल्लो साता निरन्तर ओरालो लागिरहेको कोरोनाभाइरसको सङ्क्रमण दर शनिवार माघ १ गते नजिककै अवस्थामा झरेको छ। तर परीक्षण पनि घटेका कारण सङ्क्रमण घट्दै गएको भनेर ढुक्क हुन सकिने अवस्था अझै नआइसकेको अधिकारीहरूले बताएका छन्।

अघिल्लो साताको अन्त्यमा परीक्षण गराउनेमध्ये आधा भन्दा बढीमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो। तर यो साताको अन्त्यमा सङ्क्रमण दर घटेर परीक्षण गराउनेमध्ये एक तिहाइ भन्दा कममा सङ्क्रमण पुष्टि भएको छ।

माघ १ गते ३१.८ प्रतिशत रहेको सङ्क्रमण दर त्यसयता निरन्तर बढेर माघ ८ गते ५०.८ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। माघ १० गतेपछि भने निरन्तर घट्दै गएको सङ्क्रमण दर शनिवार ३३.७ प्रतिशतमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि केही दिनयता घट्दै गइरहेको देखिन्छ। माघ ११ गते १२,००८ नयाँ सङ्क्रमित पुष्टि भएयता नयाँ सङ्क्रमितहरूको सङ्ख्या निरन्तर घटिरहेको तथ्याङ्क छ।

पछिल्लो २४ घण्टामा ४९०४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन् ।

सङ्क्रमण घट्न थालेको हो?

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलले पछिल्लो समय सङ्क्रमण घटेको बताए।”अहिलेको हिसाबले यसपछि घट्दै जाने नै देखिएको हो,” पौडेलले भने।

“यही नै रेन्जबाट थप घट्दै जाला नै भन्ने आकलन हो। थप नयाँ भेरिअन्ट आएन वा भिड हुने गतिविधि बढेनन् भने अब नबढ्ला।” सङ्क्रमण दर र सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ।

माघ १ गते देशभर २१,५८४ जना सक्रिय सङ्क्रमित थिए। ओमिक्रोनको लहरसँगै सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढेर माघ १३ गते ९०,५७६ सम्म पुगेको थियो। शनिवारको तथ्याङ्क अनुसार देशैभर सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ८७,३२९ छ।

तीमध्ये आधा भन्दा बढी सङ्क्रमित काठमाण्डू उपत्यकामा छन्।विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण हालसम्म ११ हजार बढीले ज्यान गुमाइसकेका छन्। नेपालमा मृत्यु दर १.४ प्रतिशत छ भने पछिल्लो तथ्याङ्क अनुसार निको हुने दर करिब ९० प्रतिशत छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्