शीतलनिवास जानुअघिको त्यो गोप्य सम्झौता



तत्कालिन नेकपा अध्यक्षको जिम्मेवारीमा रहँदा प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको खुलासा गर्दैै केपी ओलीले केही साताअघि भन्नुभएको थियो, ‘खोल्दिऊँ त्यो कुरा ?’

पारपाचुके भइसकेका पति–पत्नीले आफूलाई निर्दोष देखाउन रामरमिता चल्दाका आकाशपाताल जोड्ने वाचा कबोलको प्रसंग घरपरिवारसामु कोट्याए पनि त्यसको उपादेयता नरहेजस्तै उतिबेलाको कुराले यतिबेला कुनै अर्थ त राख्दैन नै, तर एउटा पूर्वप्रधानमन्त्रीले अर्का पूर्वप्रधानमन्त्रीका पोल ‘खोल्दिऊँ’ ? भनेपछि त्यसले राजनीतिकबृत्तमा विभिन्न किसिमका चर्चा चलायो ।

एक नेताले जनआस्थालाई बताएअनुसार, ओलीले ०७७ जेठ ८ गते प्रतिनिधिसभा विघटनका निम्ति पहिलो सिफारिस गर्नुअघि प्रचण्डसँग एउटा गोप्य कागज गर्नुभएको रहेछ ।

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरुलाई जिल्याउँदै प्रचण्डसँग मिलेको सन्देश दिएर ‘मलाई तिमीहरु नभए पनि हुन्छ’ भन्ने पार्नलाई ! त्यसदिन बिहान ओली राष्ट्रपतिकहाँ जानुअघि प्रचण्डसँग भेट भएको थियो ।

उहाँले ‘बरु अरु विकल्पबारे छलफल गरौँ, तर संसद विघटन नगरौँ’ भन्नुभएको रहेछ । ओलीको प्रश्न थियो, ‘के हो त विकल्प ?’ प्रचण्डले भन्नुभयो, ‘तपाईंले भन्नुस् न, मेरो तर्फबाट के–के त्याग गर्नुपर्छ, तयार छु । तपाईंलाई प्रधानमन्त्री पदको सुनिश्चितता चाहिएको हैन ? भन्नुहुन्छ भने, त्यसको ग्यारेण्टी गरिदिन्छु । तर, संसदचाहिँ जोगाऔँ !’

यो कुराले ओलीको कानमा बतास चल्यो । प्रचण्डका बोलीमा ओलीलाई त्यति विश्वास नभएपछि एउटा कागज देखाउँदै भन्नुभयो, ‘ल, यो कुरा लेखेर दिन सक्नुहुन्छ ?’ प्रचण्डले भन्नुभयो, ‘किन नसक्ने ? बकाइदासँग सक्छु । तर, एउटा शर्त लागू हुन्छ, तपाईंको प्रधानमन्त्री सुनिश्चित गरिरहँदा अध्यक्षको पद मेरो हकमा सुनिश्चित हुनुपर्छ ।’

अनि, तत्कालीन महासचिव विष्णु पौडेलद्वारा हातैले लेखियो, ‘क.केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्री रहने र आगामी महाधिवेशनबाट क.पुष्पकमल दाहाल (प्रचण्ड) एकल पार्टीको अध्यक्षको रुपमा रहने ।’

उठ्ने बेलामा केपीले भन्नुभयो, ‘लाइनचाहिँ जबज हुन्छ, अरु दायाँबायाँ जान्दिनँ नि !’ प्रचण्डले एकैछिन त हाँसीहाँसी त्यो कुरा स्वीकार्नुभयो । तर, लगत्तै यो भुलभुलैया हो भन्ने बुझेपछि नराम्ररी बिच्किनुभयो ।

यो कुरा माओवादी नेताहरुले त्यतिबेलै त थाहा पाएनन् । तर, ओलीपक्षीय नेताहरुले अर्को पक्षका नेतासँग गाइँगुइँ गर्न थालेपछि छलफलको विषय बन्यो ।

प्रचण्डले भन्नुभयो, ‘गरेकै हो । ओलीले थप बितण्डा नगरून् भन्नाका लागि कागज गरिएकै हो । तर, त्यस्तो गर्दा पनि उनले संसद बाँकी नराखेपछि त्यो कागजको केही अर्थ भएन भनेर च्यातिदिएँ ।’
जनआस्था बाट

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्