एक महिनामै नयाँ घटनाक्रम विकास हुनसक्ने , देउवाले चाले यस्तो चाल




काठमाडौ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अब नेकपा माओवादी र समाजवादीसंग गठबन्धन भत्काउने रणनीतिमा लाग्नपर्ने अवस्था आएको छ । देउवाले अन्तिम विकल्प पनि सोही अपनाउने सम्भावना बढेको छ । खासगरी सत्ता गठबन्धन दलमा अमेरिकी सहयोगसम्बन्धी एमसीसीका विषयमा समान धारणा बन्न नसकेका कारण यस्तो अवस्था आउन लागेको हो ।

अब एक महिनामै समिकरण परिवर्तन हुनसक्ने सम्भावना देखिएको छ । देउवालाई अमेरिकाले एमसीसीका बारेमा तत्काल निर्णय लिन दवाव दिएको बुझिएको छ । उता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारित गर्न नहुने गर्नै परे परिमार्जन गर्नुपर्ने पक्षमा छन् । अमेरिकाको दवाव आएपछि देउवाले सत्ता गठबन्धनका नेताहरुसँग एमसीसी पारित गर्ने विषय फेरि उठाएको बुझिएको छ ।

एमसीसी पारित गर्न अमेरिकाले समयसीमा समेत तोकेर देउवालाई सन्देश पठाएका कारण देउवा पनि अब गठबन्धनका विषयमा फेरी एक पटक विचार गर्नुपर्ने अवस्थामा पुगेका हुन् । कुनै हालतमा एमसीसीका बारेमा सहमति नजुटे एक महिनामै फरक दृष्य देखिन सक्ने बताइएको छ । अबको एक महिनाभित्र एमसीसी पारित नगरे अर्को कुनै देशमा सहयोग रकम लाने अमेरिकाले सन्देश दिइसकेको छ । यसले देउवा दबाबमा परेका छन् ।

गठबन्धनका नेताहरु प्रचण्ड र माधवकुमार नेपालले वैशाखमा स्थानीय चुनावका लागि सहमति जनाएर एमसीसीलाई पछि धकेल्ने रणनीति बनाएका छन् । तर देउवाले त्यो रणनीति बुझिसकेका छन् । एमसीसी पारित गर्न प्रचण्ड र माधव नेपाललाई तयार बनाउन देउवाले प्रयास गरिरहेका छन् ।

एमसीसी पारित गर्न गठबन्धनका नेताहरु प्रचण्ड र माधवकुमार नेपाल तयार नभए नयाँ घटनाक्रम विकास हुनसक्ने सम्भावना छ । देउवाले एमसीसी पारित गर्ने कार्यमा सघाउन नेकपा एमालेसंग पनि सहयोग मागेका छन् । अध्यक्ष ओलीले त्यसका लागि गठबन्धन भत्काउनुपर्ने सर्त राखेको बुझिएको छ । यसकारण पनि गठबन्धन फेरि धरापमा पर्ने देखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्