३ दिन मौसम निकै खराब असिनासहित वर्षाको हुने



काठमाडाैं: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्द सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार पहाडी भूभाग तथा तराईका धेरै स्थानमा मेघ गर्जन-चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने मौसमविद वरुण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन । ‘काठमाडौं उपत्यकाको हकमा शुक्रबार धुम्म हुन्छ, वर्षा हुन्छ, कतैकतै भारी वर्षा पनि होला,’ मौसमविद पौडेलले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्