एमसीसी बारे देउवाको यस्तो अडानले गठबन्धन फुट्ने सम्भावना बढ्यो, चुनाव अघि नै अलग हुने सम्भावना



काठमाडौ । नेकपा एमालेको सरकार ढलाएर नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बन्न सहयोग गरेका माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अब देउवासंग पनि कुरा मिल्न छोडेको छ । खासगरी अमेरिकी सहयोग एमसीसीलाई लिएर गठबन्धन दलका नेताहरुबीच विचार विभेद छ ।

देउवा अब छिटै एमसीसी अनुमोदन गर्ने पक्षमा छन् भने प्रचण्ड र माधव नेपाल यथास्थितीमा पारित गर्न नहुने पक्षमा छन् । देउवाले उनीहरुसंग परिमार्जन गर्नुपर्ने बुँदा के हो भनेर मागेका छन् । अब एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट सुरु भएको छ ।

यो अवस्था कायम रहे अब निर्वाचन अघि नै गठबन्धन फुट्न सक्ने सम्भावना बढ्दै गएको छ । माओवादी अध्यक्ष प्रचण्डले आफुलाई एमसीसी पास नगर्न पार्टी भित्रवाटै निकै ठूलो दवाव परेको भन्दै देउवालाई गठबन्धनवाट अलग पनि हुनसक्ने संकेत गरेको स्रोतले जनाएको छ । पार्टी भित्रकै दवाव थेग्न नसकेको प्रचण्डले देउवालाई यथास्थितीमा एमसीसी पारित गर्नुपर्ने अवस्था आए सरकार छोड्न पनि पर्न सक्ने संकेत गरेका हुन् ।

सभामुख नै एमसीसीको चर्को विरोधमा छन् । उनले कुनै पनि हालतमा संसदमा एमसीसी पेस हुन नदिने बताएका छन् । प्रचण्डको यस्तो कुराले गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् । काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे ।

यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दौडधूप गरे । काँग्रेसका नेताहरुले बुधबार दाहाल र नेपालसँग बेग्लाबेग्लै भेट गरे। दाहाल र नेपालले बिहान बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे ।

प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसीसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरुबीच खटपट उत्पन्न भएको छ । खटपट बढ्दै गए स्थानीय तहको निर्वाचन अघि नै गठबन्धन टुट्न सक्छ । यस्तो अवस्था आउन नदिन बुधबार दिनभर नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्