मेयरले आफ्ना पार्टीका कार्यकर्ता पोस्ने योजना र वजेट ल्याएको भन्दै ६ जना वडाध्यक्षले गरे बैठक वहिष्कार



काठमाडौ । मेयरले मनोमानी ढंगले चालु योजनाको रकमान्तर गरेको भन्दै गोरखा नगरपालिकाका ६ जना वडाध्यक्षले बैठक वहिष्कार गरेका छन् । मेयरले राजनीतिक पुर्वाग्रह राखेको आरोप लगाएका छन् । शुक्रवार हुने नवौँ नगर सभाबाट पास गर्ने गरी नगरपालिकाका मेयर राजनराज पन्तले विभिन्न योजनामा रकम बाँडफाँड गरेका थिए । त्यसवारे जानकारी दिन विहिवार गरिएको तयारी बैठक वडाध्यक्षहरुले वहिष्कार गरेका छन् ।

मेयरले तयारी बैठकमा योजना वारे जानकारी दिएका थिए । आफूहरूसँग छलफल नै नगरि कतिपय चालु योजनाको रकमान्तर गरिएको र आफूखुसी नयाँ योजनामा रकम बाँडफाँड गरिएको वडाध्यक्षहरुको भनाई छ । वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काले वैठक वहिष्कार गरेको बताए ।

‘तत्काल त्यसलाई सच्याएर मात्रै अघि बढ्न आग्रह गर्‍यौँ तर बहुमतको बलमा पेलेर जाने मनस्थिति देखिएपछि हामी तयारी बैठक छोडेर हिँडेका हौँ’, खड्काले भने । मेयरले आफ्ना पार्टीका नेता कार्यकर्तासँग सल्लाह गरेर योजना छानिएको उनीहरुको आरोप छ ।

मेयर पन्तले एक करोड ४६ लाख रुपैयाँ बजेटका नयाँ योजना बनाएका हुन् । वडा नम्बर ३ का अध्यक्ष रामबाबु बोगटीले योजनाका बारेमा आफुहरुसंग सल्लाह र छलफल हुनुपर्थ्यो भन्ने माग रहेको बताए । आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर मेयर पन्तले टुक्रे योजनामा पैसा छरेको तयारी बैठक बहिष्कार गरेका वडाध्यक्षको भनाइ छ ।

गोरखा नगरपालिकाका १४ वडाध्यक्षमध्ये नेकपा माओवादी केन्द्रबाट निर्वाचित तीन जना र नेकपा एमालेबाट निर्वाचित तीन जना वडाध्यक्षले बैठक बहिष्कार गरेका हुन् । आफ्ना माग र असन्तुष्टिसहितको धारणा नगरपालिकामा लिखित रूपमा बुझाउने र सम्बोधन नभए भोलिको बैठक चल्न नदिने उनीहरूको धारणा छ ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने नयाँ योजनामा बजेट बाँडफाँडको विषय छलफलकै क्रममा रहेको बताएका छन् । । कोभिड– १९ सङ्क्रमणका कारण कार्यान्वयन हुन नसकेकासहित केही योजनाको रकमान्तर गरी नयाँ योजनामा खर्च गर्न लागिएको उनको भनाई छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्