मन्त्री यादवलाई बोलाएर आयोगले दियो यस्तो चेतावनी



काठमाडौ । अराजनीतिक अभिब्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई राष्ट्रिय मानव अधिकार आयोगले त्यस्तो अभिब्यक्ति नदिन चेतावनी दिएको छ । उनलाई आयोगले बोलाएर उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको हो । मन्त्री यादवले जनमत पार्टीका नेता सीके राउतमाथि धावा बोल्दै अर्को गौर नरसंहार मच्चाउने अभिव्यक्ति दिए पछि विवादित बनेकी थिइन् ।

विहिवार उनलाई हरिहरभवनस्थित कार्यालयमा आयोगले बोलाएको थियो । आयोगका पदाधिकारीहरुले उनलाई माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा उनले दिएको अभिव्यक्ति सम्झाएका थिए । सो अभिब्यक्तिले सिर्जित अवस्थाप्रति आयोगले त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्री यादवले श्रद्धाञ्जलीसभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको जिकिर गरिन् । उनले हिं सा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा सचेत रहेको पनि बताईन ।

‘आयोगका अध्यक्ष तथा सदस्यले मन्त्रीजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिं सा लाई बढावा दिने र सामाजिक सद्भावमा खलल् पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो ।’ आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

जिम्मेवार पदमा रहेका व्यक्तिले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमन चयन खलबलिन सक्नेतर्फ ध्यान दिनुपर्ने आयोगको जोड छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्