‘हजुरले मेरो हात नछोडिस्यो है , नत्र त म जिँउदै म’र्छु’


banner

छोटो कथा – प्रेमको एउटा बीभत्स स्वरूप ।
– यश घिमिरे
हुर्किसकेका छोराछोरी । सरकारी जागीर । काठमाडौंमा घर , गाडी अनि अङ्गालो भरीकि श्रीमती । सबैकुरा थियो थापाजीसँग । पारिवारिक जीवन आफ्नै रफ्तारमा सलल्ल गुडदै थियो। तर एकवर्ष अघि अचानक २५-२६ वर्षिया एक युवतीले उस्को जिन्दगीमा पाइला टेक्न आईपुगि ।

शान्त तलाउमा ढुङ्गाहाने जसरी थापाजीको जीवन तरङ्गित भयो । रश्मीको रुप सौन्दर्य र बोलीले यति साह्रो लठ्यायो कि आफू मीनपचासको अधबैशें गृहस्थ पुरुष हुँ भन्ने हेक्का पनि हरायो । यो एकवर्षमा रश्मीको लागि के गरेन?। सुनको सिक्री देखि सम्भव भएसम्मका महङ्गो उपाहारहरूले पुरिदियो । उपहार पाएपछि भावुक हुँदै भन्थी – “हजुरले मेरो हात नछोडिस्यो है , नत्र त म जिँउदै म’र्छु “।

उँडदैउँडदै बाहिरी संबन्धको कुरा परिवारको कानसम्म पनि आइपुग्यो । श्रीमती र हुर्कीसकेका बच्चाहरुलाई नमिठो धक्का लाग्यो । उनिहरू चुपचाप बसे पनि त्यो धक्काले दिएको चोट मनमा शूल जसरी बिझाउन थालेको थियो । पारिवारिक संबन्ध बेस्सरी ओईलायो ।

यता, केही समयदेखि सख्खर जस्तो मिठो बोल्ने रश्मीमा केही परिवर्तनहरू देखेर थापाजी पनि तनावमा थिए । बातबातमा निहुँ खोज्न थालेकी थिई उ ;

-तपाईको स्ट्याटसमा कमेन्ट गर्ने त्यो केटी को हो ? ।
– त्यस्कोमा किन लभ रियाक्ट दिएको ?।
-दिनभरी सम्झिसिन्न है ! माया गर्न छोड्नु भएको छ । मलाइ थाहा छ ।
– अफिसबाट किन यति ढिलो घर पुगेको? दुईघन्टा कहाँ भुलिस्यो ?।
– पन्ध्र मिनेट फोन किन व्यस्त ?। कुन तरुनीसँग गफ लडाईसेको थियो ?।
आदि इत्यादि निहुँलाई ‘माया गर्नेले झगडा पनि गर्छ ‘ भनेर मन बुझाउँथ्यो।

गत हफ्ता त रश्मीले रडाको नै गरी । उ एउटा विवाह पार्टीमा गएको थियो । फोन घरमै छुटेछ । साथीभाइसँग बसेर खाँदाखाँदै अचानक एउटा साथीलाई बेस्सरी छाती दुख्न थाल्यो । हतारहतार अस्पताल लग्नुपर्यो । थापाजीले आफ्नै गाडीमा हालेर कुँदाए । घर फर्किदा मध्यरात भयो। त्यो दिन रश्मीलाई घन्टाघन्टामा हरेक ठाउँको ‘अप्डेट’ गराउनबाट चूक्यो । अनि त के चाहियो ?। मोबाइलमा रश्मीको अन्तिम म्यासेज आईपुगेको रहेछ ।

” दिनभरी रातभरी केही नभनीनभनी गायब हुने यस्ता सुड्डाहरूको पछि लाग्नु छैन अब । गूडबाई मिस्टर थापा , हजुरको प्रेममा अन्धी थिएँ अब आँखा खुल्यो” ।तुरुन्त फोन गर्यो , नम्बर ब्लक गरीएको पायो । फेसबुक , इमो , भाइबर जताततैबाट ताला लगाईदिएकी थिई । थापाजीको मन हाहाकार भयो । पहाड खसेर थिचेको जस्तो भयो ।

आजकाल थापाजीको स्वरूप फेरिएको छ । अनुहार र मन दुवै मुर्झाएको छ ।उसलाई थाहा छ , परिवारसँग अब चाहेर पनि पहिलाको जस्तो गाढा संबन्ध हुँदैन । आफ्नोपन हुँदैन । त्यो पुरानो माया र सद्भाव रहँदैन । घरीघरी मनमा एउटै कुरा खेलीरहन्छ – ” काश ! त्यो दिन मोबाइल बोकेको हुन्थें भने रश्मि त साथमा हुन्थी ” ।

तर थापाजीलाई कस्ले बुझाई दिने ? त्यो दिन मोबाइल नै बोकेको भएपनि अरू केहि न केही निहुँमा यो संबन्ध टुटेरै छोड्थ्यो । किनकि रश्मिको जीवनमा अर्को एकजना धनी सरकारी अधिकृत ‘बरालजी’को प्रवेश भैसकेको थियो ।
—————————————————–
हाल :- भरतपुर -१२ , चितवन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्