नारायणकाजी श्रेष्ठले भने- प्रचण्डले मात्र भनेर हुँदैन माओवादी केन्द्रले यथास्थितिमा एमसीसी स्वीकार गर्दैन



काठमाडौं :

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको बारेमा पार्टीलाई जानकारी गराएको खुलेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र लेखेको जानकारी अनौपचारिक रूपमा अध्यक्ष प्रचण्डले पार्टी बैठकमा गराएका जनाएका छन् । ‘एमसीसीलाई लिएर अमेरिकालाई पत्र लेखेको जानकारी अध्यक्ष प्रचण्डले पार्टीमा गराउनु भएको थियो,’ गजुरेलले न्युज कारखानासँग भने, ‘तर, पार्टी बैठकमा औपचारिक छलफलको विषय नबने पनि अनौपचारिक जानकारी चाहिँ पत्र पठाएपछि गराउनु भएको थियो ।’

उनका अनुसार अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा पत्र लेखेको विषय माओवादीका सबै शीर्ष नेताहरू भने जानकार थिए ।

नारायणकाजी श्रेष्ठले भने- माओवादी केन्द्रले यथास्थितिमा एमसीसी स्वीकार गर्दैन

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन् ।

‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,’ उनले आइतबार ट्विट गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्