सात महिनापछि ओली प्रधानमन्त्री निवासमा, देउवा र प्रचण्डसँग भेटवार्ता



काठमाडौं :

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रमुख दलका अध्यक्षबीच भेटावार्ता सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गाविन्द परियारले जानकारी दिए ।

प्रचण्ड र देउवाबीच आइतवार बिहान पनि बालुवाटारमै आधा घण्टा वार्ता भएको थियो। उक्त वार्ताका क्रममा दुई नेताबीच ओलीलाई पनि बालुवाटार बोलाउने सहमति भएको थियो।

मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) को मुख्यालयलाई देउवा-प्रचण्डले यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्ने भन्दै गत असोज १३ गते संयुक्त हस्ताक्षरसहितको पत्र पठाएका थिए।

त्यो पत्र बालुवाटारले आइतवार बिहान सार्वजनिक गरिदिएपछि देउवासँग वार्ताका लागि प्रचण्ड बालुवाटार पुगेका थिए। पत्र सार्वजनिक भएसँगै सत्तारुढ गठबन्धनमा खटपट बढिरहेका बेला तीन नेता बालुवाटारमा जुटेका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्