अष्ट्रेलियाले अब विदेशी पर्यटक जान पाउने, तर यस्ता छन् सर्त



काठमाडौ । कोभिड संक्रमणको जोखिमका कारण लामो समय सिमा बन्द गरेको अष्ट्रेलियाले अब सिमा खुला गर्ने भएको छ । कोभिडको पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई फेब्रुअरी २१ देखि प्रवेश गर्न दिने भएको छ । अहिले सम्म अष्ट्रेलियाले सिमा बन्द गरेर कोभिडको जोखिम कम गर्ने प्रयास गरेको थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले फेब्रुअरी २१ गतेदेखि कोभिडको पूर्णखोप लगाएका विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेका हुन् ।

हामीले अष्ट्रेलियातर्फ आउने सीमा बन्द गरेको झण्डै दुई वर्ष भइसकेको छ’, सोमबार मिडिया ब्रिफिङ गर्दै मोरिसनले भने, ‘यदि तपाईंले दुई पटक खोप लगाउनु भएको छ भने हामी तपाईंलाई अष्ट्रेलियामा स्वागत गर्ने प्रतिक्षामा छौं ।‘

यसअघि नै अष्ट्रेलियाले आप्रवासी दक्ष कामदार र विद्यार्थीका लागि आफ्नो सीमा खुला गरिसकेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघले मोरिसनको पछिल्लो घोषणालाई स्वागत गरेको अलजजिराले जनाएको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अष्ट्रेलियामा केही समयअघि दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नोभेम्बरमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएयता २४ लाख मानिस संक्रमित थपिएका छन् ।

त्यहाँ एक महिनाअघि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झण्डै साढे एक लाख पुगेको थियो । तर, अष्ट्रेलियामा पछिल्लो समय भने दैनिक संक्रमितको संख्या घट्न थालेको छ । त्यहाँ सोमबार २३ हजारभन्दा केही बढी संक्रमित थपिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्