कमल थापा नयाँ पार्टी बनाउँदै, राजसंस्था छोडेर लिए यस्तो नीति




काठमाडौ । लामो समय अध्यक्ष बनेर चलाएको पार्टीमा आफै पराजित भएपछि कमल थापालाई मन परेको छैन । उनलाई हार स्वीकार गर्न र अर्कालाई अध्यक्ष स्वीकार गर्न निकै कठिन भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा लामो समय अध्यक्ष रहेर विरासत थामेका थापा अहिले पराजित भएपछि उनी नयाँ अध्यक्षलाई असहयोग गरिरहेका छन् ।

उनले महाधिवेशनमा पूर्वराजाले हस्तक्षेप गरेको र परिणाम आफ्नो पक्षमा नआएको आरोप लगाउँदै छानविनका माग गरेका छन् । तर अध्यक्ष राजेन्द्र लिङदेनले उनको त्यो माग पुरा नगरेपछि अब पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने तयारी थालेका छन्।

गत मंसिरमा भएका एकता महाधिवेशनमा उनको धेरै वर्ष लामो विरासत ढलेको थियो । उनी राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै पार्टी गतिविधि बहिष्कार गर्दै आएका छन् । एकता महाधिवेशनपछि पहिलो पटक अध्यक्ष लिङ्देनसँग आफ्नै निवासमा छलफल गरेका थापाले सोमबार नयाँ पार्टी खोल्ने पूर्वतयारीस्वरुप बैठक बोलाएका छन्।

थापाले नयाँ पार्टी खोल्ने तयारीस्वरुप नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आफूनिकट केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन्।
राप्रपाको नयाँ नेतृत्वमा थापा पक्षीय नेताहरु धेरै निर्वाचित भएका थिए। तर अध्यक्ष लिङ्देनले मनोनीत गरेर आफ्नो पकड बलियो बनाइसकेका छन्।

एकता महाधिवेशनमा पराजित भएपछि थापाले त्यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासलाई दिएका थिए। उनले लिङ्देनसँग पराजित भएपछि गत मंसिर १७ गते महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप छानबिन माग गर्दै राप्रपामा निवेदन दिएका थिए।

अध्यक्ष लिङ्देनले निर्मल निवासबारे कुनै किसिमको छानबिन हुन नसक्ने अडान लिएका छन्। उनले कमल थापाको निवेदनलाई पार्टी बैठकमा प्रवेश गराउन पनि अस्वीकार गरिसकेका छन्।

त्यसपछि थापा फेरि माघ १६ मा अध्यक्ष लिङ्देनलाई अर्को पत्र पठाएर निर्मल निवास र ज्ञानेन्द्र शाहको हस्तक्षेप छानबिन भए मात्रै सहकार्य सम्भव हुने अडान लिएका थिए।

थापाले आफ्नो निवेदनमाथिको सुनुवाइ हुने नहुने कुरालाई लिएर माघ मसान्तसम्म कुर्ने भएका छन्। यदि माघ मसान्तसम्म पनि सुनुवाइ नभएमा उनले फागुनमा राजसंस्थाको नारा छाडेर हिन्दुवादी एजेण्डसहितको पार्टी घोषणा तयारी गरेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्