मन्त्री आलेको यस्तो निर्णयले फेरी हलचल



काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्यान्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई त्यस होटलले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रुपैयाँ रोयल्टी तिर्नुपर्ने देखिएको छ ।

सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा होटल तथा क्यासिनो बन्द गराइएको हो । २०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेशिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्यान्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।

आर्थिक वर्ष २०७६, ७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७, ७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी ३८ करोड रुपैयाँभन्दा बढी रकम नबुझाएपछि होटल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिए। ड्रिमल्यान्ड होटल र आधुनिक मेशिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभाग होटल शाखाले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्