चोरिएको ऐतिहासिक मुर्ति फेला परेपछि भयो यस्तो खुसीयाली, बाजागाजा सहित मन्दिरमा भित्र्याइयो



काठमाडौ । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति फेला परेको छ । गुठी संस्थानले मन्दिरको मुर्ति फेला पार्नेलाई पुरस्कारको घोषणा गरेको थियो । महिनौंसम्म प्रहरी र गुठीका पदाधिकारीले खोजी गर्दा फेला नपरेपछि सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरिएको थियो ।

तर शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेवैमा उक्त मूर्ति फेला परेको प्रहरीले जनाएको छ । मूर्ति फेला परेको कुरा स्थानीयले प्ररहरीलाई खबर गरे पछि प्रहरी गएर उद्दार गरेका थिए । अहिले मूर्ति जावलाखेलस्थित महानगरीय प्रहरी कार्यालयमा राखिएको छ ।

त्यहाँका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले व्यापाक खोजी भएको मूर्ति र पक्रिन सकिने डरले चोरी गरेकोले मूर्ति छाडेको हुनुपर्ने बताए । ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ । गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।

स्थानीयले बाजागाजासहित खुसीयाली मनाएर बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मूर्ति शुक्रबार भेटिएको थियो । खुमलटारस्थित करुणा मन्दिरको हातामा बोरामा प्याक गरेको अवस्थामा मूर्ति भेटिएको एसएसपी पोखरेलले बताए ।

क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए । खोलेर हेर्दा मूर्ति भेटिएको थियो । मूर्ति चोरीमा संलग्नहरुबारे ललितपुर प्रहरी र अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्