राजसंस्था छोडेका कमल थापाको पार्टीको चुनाव चिन्ह के होला ? विराटनगर पुगेर यसो भने


banner

काठमाडौ । निर्वाचनमा हार बेहोरेपछि राप्रपा परित्याग गरेका कमल थापा नयाँ पार्टी दर्ता गर्ने अन्तिम तयारीमा छन् । विहिवार उनले अब आफु राप्रपामा नरहेको र नयाँ पार्टी दर्ता गर्न लागेको बताएका थिए । शुक्रवार विराटनगर पुगेका थापाले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गरिसक्ने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर नयाँ पार्टी खडा गर्न लागिएको जानकारी दिए ।

‘हिजोमात्रै मेरो सहयोगी, शुभचिन्तक, पार्टीभित्र र बाहिरका बुद्धिजिवी साथीहरुले नयाँ पार्टी गठन गरेर अघि जान मलााई जिम्मेवारी दिनु भएको छ’, थापाले भने, ‘त्यो जिम्मेवारीलाई पूरा गर्ने क्रममा मैले गृहकार्य सुरु गरिसकेको छु । फागुनको पहिलो हप्ताभित्रमा निर्वाचन आयोगमा कानुन बमोजिम नयाँ पार्टी दर्ताको काम पुरा गर्नेर्छौँ ।’

उनले अगाडि भने, ‘मलाई साथीहरुले जिम्मेवारी दिँदा हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर नयाँ पार्टी खडा गर्ने जिम्मेवारी दिनु भएको छ । हिन्दुराष्ट्र सुशासन र समृद्धि हाम्रो नयाँ यात्राको एजेण्डा हुनेछ ।’ बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने र त्यसका लागि थापालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

थापाको पार्टीको चुनाव चिन्ह के ?
थापाको पार्टीले राजसंस्थाको एजेण्डा बोक्नेछैन । नेताहरुका अनुसार चुनाव चिह्नको रूपमा हात्ती, तीन आँखा, कमलको फूल चर्चामा छन् । एक नेताका अनुसार हात्ती र तीन आँखामध्ये एउटा चुनाव चिह्न राखिने सम्भावना बढी छ । महादेवको त्रिनेत्र हुने अर्थमा तीन आँखा र गणेशसँग धार्मिक अर्थ जोडिएकाले हात्ती चिह्न छलफलमा आएको ती नेताले बताए ।

राजसंस्था छोडे पनि उनले हिन्दुवादी नीति भने छोड्ने छैनन् । उनको चुनाव चिन्हमा पनि यस्तै केही कुरा हुनसक्ने बताइएको छ । यसैबीच कमल थापाले एमसीसी पास हुनुपर्ने बताएका छन् । एमसीसीका सम्बन्धमा उठेका आशंका निकारकरण गरेर एमसीसी पारित गरे नेपाललाई कुनै हानी नोक्सानी नहुने उनको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्