चितवनसहित तीन जिल्लाका एसपी फेरिए, ६ जनाको काज सरुवा



प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। शुक्रबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३ वटा जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत ईश्वर कार्कीलाई कार्य विभागमा सरुवा गर्दै बर्दियाको जिम्मा अख्तियारमा कार्यरत बिरेन्द्र शाहीलाई दिइएको छ। चितवनमा कार्यरत ओम अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ।

चितवनमा नवराज अधिकारीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै, महोत्तरीबाट दिनेश आचार्यलाई अपराध महाशाखामा ल्याइएको छ भने महाशाखामा कार्यरत कृष्ण पंगेनीले महोत्तरी प्रहरी प्रमुखको जिम्मा पाएका छन्। दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

जसअनुसार सोलुखुम्बुका प्रजिअ गणेश विक्रम शाहीलाई फिर्ता गर्दै उनको ठाउँमा अनिल खनाललाई पठाइएको छ भने सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेललाई ताप्लेजुङमा पठाइएको छ । यससँगै ताप्लेजुङका प्रजिअ उमेश पाण्डे दमक इलाका प्रशासन र सोलुखुम्बुका प्रजिअ शाहीलाई धनुषा जिल्ला प्रशासनमा सरुवा गरिएको छ ।

सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेका हुन् ।

विवरण अनुसार आन्तरिक राजश्व विभागका महानिर्देशक शोभा कान्त पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । ठुलै शक्ति तथा निकै जोडबलमा महानिर्देशक बनेका पौडेल पछिल्लो समय अब नसकिने भयो भन्दै हात उठाउँदै आएका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेको सहसचिवहरू गोपाल कुमार अधिकारी र रामबहादुर कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तरगत, हीरामणि शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नारायण प्रसाद सापकोटा र श्रवण कुमार पोखरेल गृह मन्त्रालय वा अन्तर्गत, ज्ञानेन्द्र प्रसाद ढकाल र टामलाल पाण्डेको लोक सेवा आयोग वा अन्तर्गत सरुवा भएको छ ।

यसैगरी टङ्क प्रसाद पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय वा अन्तर्गत, बाबुराम खतिवडालाई गृह मन्त्रा मन्त्रालय वा अन्तर्गतबाट प्रदेश लोक सेवा आयोग प्रदेश नं. १, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रुद्र प्रसाद पण्डित र पद्मनिधि सोतीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, ध्रुवराज पण्डितलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा अन्तर्गत र कृष्ण प्रसाद तिम्सिनालाई आदिवासी जनजाति आयोगमा सरुवा भएको छ ।

सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार आदिवासी जनजाति आयोगकी बिनु बज्राचार्यको मन्त्रालयको अतिरिक्त समूह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका कविराज पौडेल राष्ट्रिय महिला आयोग, सहकारी विभागका महानिर्देशक झलकराम अधिकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, राष्ट्रिय दलित आयोगका निराज घिमिरे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शिवराम गेलाललाई राष्ट्रिय दलित आयोग पुर्‍याइएको छ ।

यस्तै विष्णु राज ढकाललाई युवा तथा खेलकुद मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालय र नेपाल ट्रष्टको कार्यालयका विदुर प्रसाद खनाललाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव अञ्जन कुमार मिश्रलाई राष्ट्रिय मधेसी आयोग, शिव नाथ पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश वा अन्तर्गत, युवराज कट्टेललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

मन्त्रालयले शैलजा रेग्मी भट्टराईलाई राष्ट्रिय महिला आयोगबाट राष्ट्रपतिको कार्यालय, इन्दु विक्रम जोशीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत, प्रेमराज गिरीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश र मदन कोइरालालाई संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, कमल पोरखेललाई युवा तथा खेलकुद मन्त्रालय वा अन्तरगतबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

गृह मन्त्रालय वा अन्तर्गतमा रहेका राजेश्वर ज्ञवालीको अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । उनी काठमाडौँ महानगरबाट गृहको बरन्डामा पुगेका थिए । सिडियो हुनका लागि गृह गएको भनिए पनि लामो समय जिम्मेवारी नै नपाई अर्थ पुगेका छन् । यज्ञराज कोइराला प्रदेश लोक सेवा आयोग, प्रदेश नं. १ बाट अर्थ मन्त्रालय वा अन्तर्गत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूर पश्चिम प्रदेशका ढुण्डी प्रसाद निरौला पनि अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् ।दुई दिन अघि मात्रै यत्तिकै हाराहारीमा सहसचिवको सरुवा भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्