अफगानिस्तानमा हिजाब र बुर्का बिना हिँडेर देखाऊ : अभिनेत्री कंगना रणावत



दिल्ली। भारतको कर्नाटक राज्यको एमजीएम कलेज कलेजमा हिजाब प्रतिबन्ध लगाइएको विषय यतिबेला विश्वभर चासोको विषय बनेको छ। गत महिना भारतको कर्नाटक राज्यस्थित उडुपीमा रहेको एक कलेजमा हिजाब लगाएकै कारण केही मुस्लिम महिलालाई कक्षा कोठामा पस्न नदिएपछि हिजाब विवाद चुलिएको हो।

हिजाब मुस्लिम महिलाले आफ्नो शिर छोप्न प्रयोग गर्ने पहिरन हो। त्यसबीचमा भगवा सल ‘विशेषगरी भाजपाका कार्यकर्ताले लगाउँछन्’ लगाएर अन्य विद्यार्थीले पनि मुस्लिम महिलालाई हिजाब लगाएकै कारण कक्षामा छिर्न नदिएर उनीहरुको विरोध गरेपछि यो विषय विश्वभर चर्चामा आएको हो। एमजीएम कलेजमा मात्र सुरुवातमा हिजाब प्रतिबन्ध लागेको थियो। जब त्यहाँ मुस्लिम महिलालाई कक्षामा छिर्न दिइइन् त्यसपछि अन्य कलेजहरुमा पनि सोही गतिविधि दोहोरिएको छ।

यसबीचमा मुस्लिम महिला विद्यार्थीहरुले आफ्नो धार्मिक आस्थालाई कुन्ठित गरेर कलेजहरुले आफ्नो अपमान गरेको र अध्ययन गर्न पाउनुपर्ने अधिकार खोसेको आरोप लगाउँदै प्रदर्शन जारी राखेका छन्।राज्यव्यापी रुपमा प्रदर्शन जारी छ। यसबीचमा बिहीबार कर्नाटकको उच्च अदालतले नै विद्यालय तथा कलेजमा हिजाब प्रतिबन्ध गरिनुपर्ने अन्तरिम फैसला गरेको छ।

यो विषयमा मुस्लिम समुदायले खेद प्रकट गर्दै यस कार्य न्यायोचित नभएको र सर्वोच्चमा जाने बताएका छन्। उच्च अदालतको फैसलालाई चुनौती दिँदै मुस्लिम समुदायले सर्वोच्चमा रिट दायर गरेका छन्। यद्यपी सर्वोच्चले हिजाब विवादमा तत्काल सुनुवाइ गर्न अस्वीकार गरिदिएको छ।

कंगना यसो भन्छिन्…
यसैबीच बलिउड अभिनेत्री कंगना रणावतले पनि हिजाब प्रतिबन्धको समर्थन गरेकी छिन्। उनले भारतमा स्वतन्त्रता भएर मात्र मुस्लिम महिलाहरुले हिजाब लगाउन पाएको र नलगाएता उनीहरु यहाँ सुरक्षित रहेको उल्लेख गरिन्। उनले इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्,‘यदी तपाइँहरुलाई साहस देखाउनै मन भए अफगानिस्तान जानुस् र त्यहाँ बुर्का र हिजाब नलगाई हिँड्नुहोस्। स्वतन्त्र हुन सिक्नुहोस् पिँजडामा बन्द हुन होइन।’

यसअघि बुधबार मात्र भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री हेमा मालिनीले विद्यालयत तथा कलेजहरुमा हिजाब प्रतिबन्ध लगाएको विषयमा धारणा राखेकी थिइन्। उनले भनेकी थिइन्,‘धार्मिक आस्था शैक्षिक संस्था बाहिर ठिक छ। विद्यालय तथा कलेजको आफ्नै पहिरन हुन्छ र त्यही लगाउनुपर्छ। धार्मिक आस्थालाई विद्यालय बाहिरै राखेको बेस्।’ कंगनाले पनि हेमा मालिनीको कुरामा समर्थन जनाएकी हुन्।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई etajakhabar[email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्