सर्वोच्चमा यो कस्तो संयोग ? माधव नेपालको मुद्दा फैसला हुने दिनमै प्रधानन्यायाधीश विरुद्ध महाअभियोग



काठमाडौ । सर्वोच्च अदालतमा आइतवार अनौठो संयोग जुरेको छ । नेकपा एमाले छाडेर नयाँ दल दर्ता गराएका माधव नेपालसहित १४ जना सांसदविरुद्ध परेको मुद्दामा सुनुवाई हुने दिनमै प्रधानन्यायाधीश विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । माधव नेपाल विरुद्धको मुद्दा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।

यस अघि पनि पटक पटक पेसी चढेको यो मुद्दा हेर्न नभ्याइने भन्दै छोडिएको थियो । तर आइतवार सुनुवाई हुने दिनमै यता प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । यद्यपी चोलेन्द्रको इजलासमा भने यो मुद्दाको पेसी चढेको नभए पनि सर्वोच्चमा यो संयोगले भने तरंग उत्पन्न गराएको छ । साधारण सदस्य र सांसद सदस्यबाट समेत निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै एमालेले मुद्दा दायर गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् । एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका विमला वली र अजय शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेकोमा एमाले अदालत गएको हो ।

एमालेले २५ साउनको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्