नागरिक उड्डयनमा फेरी लफडा: अदालतको आदेश लिएर कार्यालय पुगे क्षेत्री, कर्मचारीले ढोकामै रोके



काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा लफडा सुरु भएको छ । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री अदालतको आदेश लिएर प्राधिकरणमा हाजिर हुन पुगेका छन् । तर कर्मचारीले उनलाई ढोकामै रोकेका छन् । आइतवार सर्वोच्च अदालतले महानिर्देशक पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि क्षेत्री आज (सोमवार) बिहान ११ बजे प्राधिकरण पुगेका हुन् ।

प्राधिकरणले क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण २५ पुसदेखि अनिवार्य अवकाशमा पठाएको थियो । महानिर्देशक क्षेत्रीले आफ्नो महानिर्देशकको कार्यकाल ४ वर्ष भएकोले पूरै कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै २३ पुसमै सर्वोच्च अदालत गएका थिए । अदालतले उनलाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएसँगै आजै प्राधिकरणमा हाजिर भएर अदालतको आदेशको पालना गर्ने क्षेत्रीले बताएका छन् ।

तर, कर्मचारी संगठनले भने क्षेत्रीलाई कार्यालयमा छिर्न नदिने भन्दै रोकेका छन् । ​प्राधिकरणअन्तर्गतको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष श्रवणकुमार यादवले क्षेत्रीको अदालतबाट पूर्ण फैसला नभएसम्म कार्यालय प्रवेश गर्दा मुद्दा प्रभावित पार्न सक्ने भएकोले उनलाई कामकाज गर्न नदिने बताएका हुन् ।

अहिले प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको छ । सरकारले नियुक्त गरेका महानिर्देशक प्रदीप अधिकारी समेत अहिले कार्यालयमै छन् ।
सेवाबाट अनिवार्य अवकास पाइसकेका व्यक्तिलाई महानिर्देशक मान्न नसकिने भन्दै कार्यालयमा कर्मचारीले गेटमै धर्ना दिएको कर्मचारी युनियनका एक प्रतिनिधिले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्