एमाले बैठक: ओली बोल्ने बेलामा पत्रकारलाई बाहिर निकालियो



काठमाडौ । नेकपा (एमाले) संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरू भएको छ । सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको हो। सत्तारुढ दलले एमालेसंग परामर्श नगरी प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

महाअभियोगको कसरी समाना गर्ने भन्नेबारे निर्णय लिन एमालेले दलको बैठक बोलाएको हो । बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो सुरु भएको हो । यसअघि आइतबार साँझ बालकोटमा बसेको एमाले सचिवालयको बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो। महासचिव पोखरेलले संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय गर्ने बताएका थिए।

नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए । साथै सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने निर्णय एमालेले गरेको छ ।

आइतवारको सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ। यद्यपी प्रतिवाद कसरी गर्ने भन्नेबारे एमालेले आजको संसदीय दलको बैठकले निर्णय भएको छ।

हिजोको सचिवालय बैठकले सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप पनि लगाएको छ। यसैबीच नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाअभियोग लगाउने तयारी गरेको छ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएसँगै त्यसलाई काउन्टर दिन उनीहरूमाथि महाअभियोग लगाउने तयारी गरेको एक सचिवालय सदस्यले बताए। आइतबार बसेको एमाले सचिवालय बैठकमा सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईलाई महाअभियोग लगाउनुपर्ने धारणा नेताहरूले राखेका थिए।

असार २८ गतेको फैसलाले अहिलेको अस्थिरता निम्तिएको ठहर गर्दै एमालेले प्रधानन्यायधीशलाई महाअभियोग लगाउने भए त्यो फैसला दिने अन्य चार न्यायधीशलाईसमेत महाअभियोग लगाउनुपर्ने तर्क गरेको छ। असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्