आफ्नै पार्टीको संसदीय दलको बैठकमा नेताहरुले गरे ओली माथि यस्ता प्रश्नको वर्षा




काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा विरुद्ध संसदमा प्रस्तुत भएको महाअभियोग प्रस्तावका बारेमा निर्णय गर्न बसेको एमालेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओली प्रति सांसदहरुले प्रश्न उठाएका छन् । एमाले सांसदहरुले एमसीसीका बारेमा अब पार्टीले छिटै आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनीहरुले ओलीलाई एमसीसी प्रति धारणा सार्वजनिक नगरेर जनता प्रति घातक हुने भनेका छन् ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले एमसीसी सम्झौतामा भएका केही प्रावधानहरु राष्ट्रहित विपरित भएकाले हुवहु पास गर्न नहुने र तत्काल एमालेले आफ्नो धारणा राख्नुपर्ने भनेका छन् । तर अध्यक्ष केपी शर्मा ओलीले भने एमसीसीबारे पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने भन्दै अहिले हतारिन नहुने अडान कायम राखेका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले एमसीसीप्रति जनताको दृष्टिकोण राम्रो नरहेको भन्दै विना संशोधन पारित गर्न लागे एमालेलाई जनताले हेर्ने दृष्टिकोण नकारात्मक हुने चेतावनी समेत दिएका छन् । सांसदहरु भीम रावल, घनश्याम भुसाल, महेश बस्नेत, गोकुल बाँस्कोटा, झपट रावल विमला विश्वकर्मा र नवराज सिलवाल लगायतले एमसीसीबारे बोलेका थिए ।

सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका बारेमा पनि एमालेले धारणा बनाउनुपर्ने भनेका छन् । नेता भीम रावलले प्रधानन्यायाधीशका बारेमा उठेको यस्तो गम्भिर विषयमा कुरा उठिसकेपछि संसदले छानविन गर्नुपर्छ भनेर पहिले पनि भनेको भन्दै संविधानको प्रावधान अनुसार पाइला चाल्नुपर्ने सुझाव दिएका छन् ।

उनले कुनैपनि व्यक्तिले संविधान कानुन मिच्छ र भ्रष्टाचार गर्छ भने एमालेले पनि भन्न सक्नुपर्ने सांसदहरुको भनाई थियो । सांसदहरुले राखेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले महाभियोग चोलेन्द्रको मात्रै प्रश्न नभएको बताएका थिए ।

नेता घनश्याम भुसालले चोलेन्द्र शमशेर राणाविरुद्ध आएको महाअभियोग प्रस्ताव एमालेका विरुद्ध नआएको भन्दै उत्तेजनामा आएर एमालेले निर्णय गर्न नहुने सुझाव दिए । बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी परियोजनाको सम्बन्धमा सत्तारुढ गठबन्धनको एउटै धारणा नआएसम्म एमाले ‘पर्ख र हेर’को रणनीतिमा रहेको स्पष्ट जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्