इन्धनको मुल्य आकासिएर रेकर्ड बनाउँदै, शेयर वजारमा पनि पर्नेछ यस्तो असर




काठमाडौं । विश्वव्यापी रुपमै इन्धनको मुल्य महंगो हुने भएको छ । सन् २०१४ यताकै सबैभन्दा महंगो बनेर इन्धनको मुल्यले रेकर्ड बनाउने सम्भावना देखिएको छ । मागको तुलनामा आपूर्ति नहुँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलर पुगेको छ। जुन सन् २०१४ यताकै उच्च हो। रुसले दैनिक १० मिलियन ब्यारेल तेल उत्पादन गर्छ। जुन विश्वव्यापी मागको १० प्रतिशत हो।

यसका साथै रुस युरोपमा प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। यदि यो सप्लाई लाइन बिग्रियो भने इन्धनको मूल्य आकाशिने सम्भावना छ।
विज्ञहरुका अनुसार छिट्टै यसले प्रतिब्यारेल १०० डलरको अंक पनि पार गर्नेछ। सोमबार तेल बजार झन्डै २ प्रतिशतले बढेको छ। योसँगै युरोपेली प्राकृतिक ग्यासको मूल्य पनि करिब ६ प्रतिशतले बढेको छ।

रुसले युरोपलाई कुल प्राकृतिक ग्यासको ३३ प्रतिशत युक्रेनी पाइपलाइनमार्फत आपूर्ति गर्छ। यो आपूर्ति शृंखला प्रभावित भएमा विद्युत उत्पादन कटौती हुनुका साथै कलकारखाना बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। यससँगै विश्वभरको शेयर बजार अझै ओरालो लाग्नेछ।

कोभिडनाका कारण धेरैले सार्वजनिक यातायात छाडेर निजी सवारीसाधन बढी प्रयोग गरिरहेका छन्। जसका कारण इन्धनको माग बढेको छ। यसैलाई ध्यानमा राख्दै अमेरिकी तेल कम्पनीहरूले क्रमशः उत्पादन बढाइरहेका छन्।

बाइडेन प्रशासनले इरानसँगको आणविक सम्झौतालाई ट्रयाकमा फर्काउने प्रयास गरिरहेको छ। यो सम्झौता अड्किएकै कारण इरानले अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ। यो सम्झौता भएमा इरानले दैनिक १० लाख ब्यारेल तेल उत्पादन गर्न सक्नेछ। –एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्