आज देशले गुमायो एउटा अमुल्य हिरा



मङ्गलबारे : ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको आज बिहान निधन भएको छ । उहाँको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य क्षेत्रमा उहाँले छोड्नुभएका अमूल्य कृतिहरुले भने उहाँलाई अमर राख्नेछन् ।

इलाममा जन्मनुभएका उहाँको कर्मथलो भने काठमाडौँ थियो । आज काठमाडौँस्थित उहाँको आफ्नै निजी निवासमा निधन भएको हो । उहाँ मधुमेहबाट पीडित हुनुहुन्थ्यो । लेखनमा रमाउने शर्मा अस्वस्थताका कारण पछिल्लो डेढ वर्षयता भने साहित्य लेखनमा सक्रिय हुनुहुन्नथ्यो । उहाँमा पछिल्लो समय बिर्सने समस्या देखिएको थियो ।

प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं १९९१ असार ९ गते निर्जला एकादशीका दिन भएको थियो । पिता प्रजापति उपाध्याय र माता देवकीको जेठो छोराका रूपमा इलाम सूर्योदय नगरपालिका–९ बरबोटेमा जन्मनुभएका उहाँको पठनपाठन संस्कृत शिक्षाबाट सुरु भएको हो ।

अङ्ग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएका उहाँ मदन पुरस्कार, साझा पुरस्कार लगायतबाट सम्मानित हुनुभएको छ । उहाँको कृति ‘बेलाइततिर बरालिँदा’ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो भने ‘सम र समका कृति’ ले २०२९ सालमा साझा पुरस्कार पाउन सफल भएको थियो । विसं २०२३ मा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाउनुभएको थियो ।

डा शर्माले निबन्धबाट लेखन यात्रा सुरु गर्नुभएको हो । उहाँले २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा निबन्ध छाप्नुभएको थियो । उहाँले अध्ययनकै सिलसिलामा भारतको खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकाल्नु भएको थियो । ‘हिमध्वनि’ पत्रिकाको सम्पादकसमेत रहेर काम गर्नुभएका उहाँका प्रकाशितमध्येको अन्तिम कृति ‘चरी भरर’ निबन्ध सङ्ग्र्रह हो ।

उहाँको थर भने भण्डारी हो । उहाँ भारत बसेकै बेला भण्डारी थर लेख्न छोडेर शर्मा लेख्न थाल्नुभएको थियो । तारानाथ शर्माले कविता पनि लेख्नुभएको छ । उहाँका कविता भने थोरै मात्र छन् । बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहाललगायतसँग मिलेर झर्रोवादी अभियान थाल्नुभएको थियो ।

सो अभियान अहिले नेपाली साहित्यका क्षेत्रमा चर्चित पनि छ । नौलो पाइलो नामक पत्रिका प्रकाशन सुरु गर्नुभएका शर्माले झर्रोवादबारे विभिन्न पत्रिकामा लेखसमेत लेख्नुभएको छ ।

उहाँको अभियानलाई नेपाली भाषा र साहित्य लेखन क्षेत्रका धेरैले साथ दिएका थिए । उहाँले एकताका शर्माको सट्टा सर्मा लेख्ने गर्नुहुन्थ्यो जुन झर्रोवादमा नै पर्ने उहाँको तर्क थियो । बनारसमा पढ्दा उहाँलाई आफ्नो थर ‘भण्डारी’ भारतीय जस्तो लागेर शर्मा लेख्न थालेको उहाँ बताउनुहुन्थ्यो । थर फेरेर घर पुग्दा बुबाले गुनासो गर्नुभएको थियो । एउटा पुस्तकमा ‘इदं पुस्तकम् प्रजापति शर्मणः’ लेखेको पत्ता लगाएपछि त्यसैको तर्कका आधारमा बुबाको चित्त बुझाएको पनि उहाँ बताउनुहुन्थ्यो ।

तारानाथ विद्यार्थी छँदै विभिन्न पत्रिकामा लेख तथा समालोचना छाप्नुहुन्थ्यो । उहाँको पहिलो पुस्तक ‘नमस्ते’ निबन्ध सङ्ग्रह हो । रत्नपुस्तक भण्डारले २०१८ सालमा छापेको सो पुस्तक चर्चित पनि छ । दोस्रो कृतिका रूपमा २०२१ सालमा ‘घोत्ल्याइहरु’ भन्ने समालोचना सङ्ग्रह निस्किएको थियो । उहाँको सम्पादनमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सङ्ग्रह, २०२० सालमा र गुरूप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्र्रह, २०२१ सालमा प्रकाशन भएको थियो ।

भाषाशास्त्री बालकृष्ण पोखरेलले तारानाथको लेखलाई नियात्रा नामकरण गरिदिनुभएको थियो । त्यसअघिसम्म नियात्रा शब्द प्रयोगमा थिएन भनिएको छ । बालकृष्णले रत्नश्रीमा २०२३ सालमा छापिएको तारानाथको ‘मेनाइ साँघुको मेला’ शीर्षक लेख पढेपछि ‘तिमीले नियात्रा लेखेछौ’ भन्नुभएको थियो । पछि, त्यही लेखसहितको ‘बेलाइततिर बरालिँदा’ निबन्ध सङ्ग्र्रहको भूमिकामा बालकृष्णले नियात्रा लेखिदिएको बताइएको छ ।

उहाँले भारत, चीन, जापान, बेलायत, अमेरिका, भूटान, पाकिस्तान, थाइल्यान्ड, लेबनान, टर्की, जर्मनी, इटाली लगायतका देशको भ्रमण गर्नुभएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्