आजबाट एयरपोर्टमा लागु भयो यात्रुलाई सास्ती दिने कडा नयाँ नियम




काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आन्तरिक उडान गर्ने यात्रुहरूले पिएनआर नम्बर मात्रै देखाएर छिर्न नपाउने भएका छन्। विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट अथवा प्रिन्ट गरिएको टिकट अनिवार्य गरिएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।

यसअघि कतिपय यात्रुहरू पिएनआर नम्बर मात्रै लिएर पनि जाने गरेका थिए। यो नम्बर मात्र लिएर जाँदा व्यक्तिको नाम, ठेगाना लगायत विवरण नखुल्ने हुँदा अप्ठ्यारो सिर्जना भएकाले यो व्यवस्था लागू गरिएको महाप्रबन्धक गुरागाईंको भनाइ छ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पुगेका यात्रुहरुलाई प्रहरीले प्रिन्टेड टिकट अनिवार्य भएको सूचना प्रवाह गर्याे । विभिन्न गन्तव्यका लागि मोबाइलमा डिजिटल टिकट लिएर पुगेका यात्रुहरुलाई प्रिन्टेड टिकट नै अनिवार्य चाहिन्छ भनेपछि अधिकांश यात्रु समस्यामा परे । सोमबारसम्म डिजिटल टिकट मार्फत नै यात्रा गरेका यात्रुहरु मात्र हैन, डिजिटल टिकट काटेका एयरलाइन्सका कर्मचारीहरु पनि प्रहरीको नयाँ सर्कुलरपछि चकित परे ।

प्रहरीको जिद्दीपछि विमानस्थलमा रहेका सम्बन्धित एयरलाइन्स कार्यालयमा टिकट काट्नेको भीड नै लाग्यो । समय डिजिटल प्रविधिमय बनेका बेला विमानस्थल सुरक्षाको जिम्मा पाएको प्रहरीले भने सुरक्षाको कारण देखाउँदै पुरानै ढर्रालाई निरन्तरता दिएर यात्रुलाई अनावश्यक दुःख दिन सुरु गरेको भन्दै विरोध हुन थालेको छ ।

पछिल्लो केही वर्षदेखि नै आन्तरिक उडान भर्ने एयरलाइन्सले विभिन्न वालेटहरु र एप्समार्फत डिजिटल भुक्तानी गरी डिजिटल टिकट काट्दै आएका छन् । यात्रुको समयलाई ख्याल गर्दै टिकट काट्न काउन्टरसम्म पुग्न नपर्ने गरी डिजिटल टिकटको व्यवस्था लागू भइरहेका बेला एक्कासि विमानस्थल प्रहरीले नयाँ नियम लागू गरेको हो ।

एक साताअघि विमानस्थलमा सरुवा भएर गएका एसएसपी भीम ढकालले मंगलबारबाट आन्तरिक विमानस्थलमा यात्रा गर्ने यात्रुहरुका लागि नयाँ नियम जारी गराएका हुन् । उनको यो निर्णयले हजारौं यात्रुहरुले दुःख पाइरहेका छन् । झन् पछिल्लो समय कोभिड संक्रमण देखिएसँगै विमानस्थलभित्र पनि डिजिटल प्रविधि लागू भइरहँदा एसएसपी ढकालले भने प्रिन्टेड टिकट अनिवार्य गराएपछि उनको यो निर्णय विवादमा परेको हो ।

सुरक्षाका कारण टिकट प्रिन्टेड नै ल्याउन भनिए पनि त्यहाँस्थित एयरलाइन्सहरुले भने नयाँ एसएसपीले दुःख दिने नियतका साथ यो निर्णय गरेको आरोप लगाउँदै आएका छन् । ‘संसारभर नभएको नियम हाम्रै विमानस्थलमा लागू हुन्छ’, वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले भने, ‘यो यात्रु र एयरलाइन्सलाई दुःख दिने नियत हो, तत्कालै खारेज हुनुपर्छ ।’

प्रहरीले ल्याएको नयाँ नियमको विषयमा संघले पनि आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बस्न लागेको जानकारी दिए । यस्तै उनले यो निर्णय फिर्ता हुनुपर्नेसमेत बताए ।

प्रविधिको प्रयोग गर्दै अझ छिटो–छरितो तरिकाले सेवा दिने व्यवस्था गर्नुपर्नेमा उल्टै प्रहरीले प्रिन्ट टिकटको नाउँमा दुःख दिन लागेको एक यात्रुको भनाइ छ । ‘एयरलाइन्स कम्पनीहरु र प्रहरीबीचमा के कुरा मिलने अनि हामीलाई दुःख दिन खोजिएको हो’, अर्का एक यात्रुले भने, ‘प्रविधिमा प्रहरी भिज्न नसकेकोमा अच्चमित छु’ ।

विमानस्थल एउटा प्रतिनिधि उदाहरण मात्र हो । यस्ता अन्य क्षेत्रमा पनि प्रहरी प्रमुख फेरिसँगै उनीहरुले नयाँनयाँ नियम ल्याउने गरेका छन् । आफ्नो प्रभाव जमाउन र अधीनमा राख्नका लागि ती प्रहरी प्रमुखहरुले सुरक्षा जाँचको नाउँमा अनेकन दुःखसमेत दिँदै आएका छन् ।

विमानस्थलमा पनि एक सातादेखि प्रहरीले विभिन्न बहनामा एयरलाइन्सका कर्मचारीहरुलाई दुःख दिँदै आएको गुनासो बढिरहेको छ । सोबारे बुझ्न खोज्दा एसएसपी ढकालसँग सम्पर्क हुन सकेन ।

प्रहरीले प्रिन्टेड टिकट अनिवार्य गराए पनि विमानस्थल कार्यालयले भने डिजिटल वा प्रिन्ट जुनसुकै टिकटले पनि यात्रा गर्न सकिने बताएको छ ।
मंगलबार एक सूचना जारी गर्दै सम्पूर्ण विवरण खुल्ने डिजिटल वा प्रिन्टेड जुनसुकै टिकट भए पनि हुने जनाएको छ ।

यस्तै पिएनआर नम्बर मात्रै लिएर भने विमानस्थल प्रवेश गर्न नपाउने जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्