संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी, प्रतिनिधिसभा अघि उच्चा सतर्कता (७ तस्विर सहित)




काठमाडौं :

प्रतिनिधिसभाको बुधबार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ । साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधबार बैठकमा पेस गर्न लागिएको हो ।

सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरि उच्च सतर्कता अपनाइएको छ  । सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो ।

पार्टीको बैठक सकेर प्रचण्ड बालुवाटार पुगे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् ।

माओवादी संसदीय दलको बुधबार बिहान बसेको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्न निर्र्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले बताए ।

उक्त निर्णय गरेपछि प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

संसद बैठकमा सभामुख उपस्थित नहुने आशंका

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने आशंका गरिएको छ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसी १ बजेका लागि बोलाइएको छ । सो बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस हुने भएपछि सभामुख सापकोटा अनुपस्थित हुने कांग्रेसले आशंका गरेको हो ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने सभामुख सापकोटा बैठकमा उपस्थित नहुने आशंका गरिएको हो ।

माओवादीका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

अर्थमन्त्री शर्मा बैठकमा सहभागी नहुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएका छन् । यसर्थ माओवादीका पूर्वनेतासमेत रहेका सभामुख सापकोटा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने बुधबारको बैठकमा अनुपस्थित हुने कांग्रेसको आशंका रहेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्