सरकारबाट बाहिरिने माओवादी केन्द्र को निर्णय, माधव नेपालको पार्टीले पनि कठोर निर्णय लिंदै




काठमाडौं :

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको सो निर्णय आएको हो ।

कांग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरेसँगै सरकारले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गर्न लागेको हो । तर, माओवादी केन्द्रले भने दलहरूबीचको सहमतिमात्र सो प्रस्ताव पेस गर्नुपर्ने निर्णय गरेको गुरुङले बताए । उनका अनुसार सरकार आफ्नो ढंगले अघि बढ्न खोजे गठबन्धन तोडिनेछ ।

संसद बैठकमा सभामुख उपस्थित नहुने आशंका

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने आशंका गरिएको छ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसी १ बजेका लागि बोलाइएको छ । सो बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस हुने भएपछि सभामुख सापकोटा अनुपस्थित हुने कांग्रेसले आशंका गरेको हो ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने सभामुख सापकोटा बैठकमा उपस्थित नहुने आशंका गरिएको हो ।

माओवादीका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

अर्थमन्त्री शर्मा बैठकमा सहभागी नहुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएका छन् ।

यसर्थ माओवादीका पूर्वनेतासमेत रहेका सभामुख सापकोटा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने बुधबारको बैठकमा अनुपस्थित हुने कांग्रेसको आशंका रहेको हो ।

प्रतिनिधिसभा बैठक उपस्थित हुन कांग्रेसको ह्वीप

नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्वीप जारी गरेको हो ।

‘आजको संसद बैठकमा उपस्थित हुन पार्टीले ह्वीप जारी गरेको छ,’ कांग्रेस सांसद देवी तिमल्सिनाले न्युज भने ।

कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्नुपर्ने र यसमा लागि सबै राजनीतिक दल सहभागी हुन पनि आग्रह गरेको थियो ।

गठबन्धनमा एमसीसीलाई लिएर कांग्रेस एक्लीयो, सबै दल विरोधमा

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसदबाट अनुमोदन गराउने सम्बन्धमा नेपाली कांग्रेस एक्लिएको छ ।सत्तारुढ गठबन्धनमा रहेका अन्य चार दलले समेत एमसीसी अनुमोदन गराउने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई साथ नदिने भएका छन् ।

गठबन्धन दलले नै साथ नदिएछि एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेस एक्लीएको हो ।

काग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदनको लागि संसदमा टेवल गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अनुमति दिएको थियो ।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेका छन् ।

सत्तारुढ दलमध्ये माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीका केही बुँदा राष्ट्रघाती भएको जनाउँदै संशोधन नगरी पास नगर्ने बताएका छन् । जसपा भित्र एमसीसीलाई लिएर एकमत छैन ।

माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका भातृ संगठनले त पछिल्ला दिन दिनहुँ एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएका छन् ।

जसपा भित्र अध्यक्ष उपेन्द्र यादव पक्ष एमसीसीको विरोधमा छ भने बाबुराम भट्टराई पक्ष अहिलेकै अवस्थामा ढिला नगरी अनुमोदन गर्नुपर्छ भन्नेमा छन् ।

‘गठबन्धनमा सहमति नभए अर्को प्रक्रिया सुरु हुन्छ । अर्को प्रक्रियाका बारेमा कांग्रेसले आवश्यक निर्णय लिनेछ,’ नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले न्युज कारखानासँग भने ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । सरकारले पहिला एमसीसीका बारेमा औपचारिक धारणा सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने जनाउँदै आएको छ ।

प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोध गर्दै आएको छ । राप्रपाले एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएको छ ।

नेपाल मजदुर किसान पार्टी पनि एमसीसीको विपक्षमा रहेको छ । प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको मजदुर किसान पार्टीले सुरु देखि नै एमसीसीको विरोध गर्दै आएको छ ।

सरकारलाई समर्थन दिएको तर मन्त्रिपरिषद्मा सहभागी नबनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मात्र एउटा यस्तो दल हो जसले स्पष्ट रुपमा एमसीसी अनुमोदन गर्न सघाउने निर्णय गरेको छ ।

‘एमसीसी अनुमोदन गर्ने निर्णय हाम्रो पार्टीले गरेको छ । हामी एमसीसीको पक्षमा छौं,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्