एमसीसीका कारण संसदमा पनि भयो यस्तो रडाको, शुक्रबारसम्मलाई स्थगित




काठमाडौं । अमेरिकी सहयोग एमसीसीलाई लिएर बुधवार सडक र सदनमा रडाको भएको छ । सडकमा विरोध जारी छ भने संसदमा नेकपा एमालेका सांसदहरुले पनि नारावाजी गरेका छन् । सरकारले एमसीसी संसदमा टेवल गर्ने निर्णय गरेकै बेला एमालेले पनि अवरुद्ध गर्ने निर्णय गरेको थियो । यद्धपी एमालेले सभामुख अग्नी सापकोटाको राजिनामा माग्दै लामो समय देखि संसद अवरुद्ध गर्दै आएको छ ।

एमाले अवरोध पछि प्रतिनिधिसभाको बैठक दुई दिनलाई स्थगित भएको छ। यही फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो।
सात पटकसम्म सूचना टाँसेर स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको थियो।

निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राख्यो। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए।

सभामुखले अवरोध रोक्न र संसद् सुचारु गर्न सहयोग गर्न बारम्बार आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि बैठक अघि बढाए। नाराबाजी चलिरहेका बेला उनले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए। त्यसैगरी सभामुखले विभिन्न शोक प्रस्ताव पनि पेश गरे।

यसअघि संसद् बैठक सातपटक सूचना टाँसेर स्थगित भएको थियो। आजको बैठकमा एमसीसी टेबुल गर्ने तयारी थियो। तर, सत्तारुढ दलहरुबीच सहमति नजुटेपछि एमसीसी टेबुल हुन सकेन। एमसीसीमा सहमति जुटाउन पटक पटक संसद् बैठक स्थगित हुँदै आएको छ। यसअघि पुस १८, २२, २८, माघ ३, १६, २६ र फागुन २ गते सूचना टाँस गरेर बैठक स्थगित भएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्