प्रधानमन्त्रीले ‘सरकार छोडेपनि छोड्नुस्’ भनेपछि रणनीति बनाउन प्रचण्ड र माधव नेपाल छलफलमा




काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवाले अब हुने संसद बैठकमा एमसीसी जसरी पनि टेबल गर्ने निर्णय प्रचण्डलाई सुनाएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । बालुवाटारमा भेट्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ देउवाले अब आफु पछि नहट्ने सन्देश सुनाएका थिए ।

देउवा एमसीसी पास गर्ने तर्फ अघि बढेपछि प्रचण्ड र माधव नेपाल छलफलमा जुटेका छन् । आजै साँझ पाँच दलीय सत्ता गठबन्धनको बैठक पनि छ । सो बैठक अघि रणनीति बनाउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल छलफलमा जुटेका हुन् ।

देउवाले प्रचण्डलाई तीन विकल्प दिएका छन् । देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्ने भए छोड्न तीन विकल्प दिएका छन् । एमसीसी टेबल नगर्न र केही समय दिनु भन्दै आग्रह गर्न बालुवाटार पुगेका प्रमण्डलाई देउवाले यस्तो सर्त राखेका थिए ।

एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेका छन् । देउवाको यस्तो जवाफ पछि सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको हो ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा अघि बढाउन नहुने अडान राख्दै आएको छ । एमसीसीबारे एकीकृत समाजवादी पनि माओवादीकै लाइनमा उभिएको छ । यद्यपि उसले संस्थागत निर्णय भने गरिसकेको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्