माधव नेपालको पार्टीले एमसीसी संसदमा पेश हुन दिने, तर विपक्षमा मतदान




काठमाडौ । एमसीसीका बारेमा एकीकृत समाजवादीले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरिसकेको अवस्थामा दवावमा परेको एकीकृत समाजवादीले पनि बुधवार लामो छलफल गरेको छ । छलफल पछि समाजवादी एमसीसी संसद्‍मा छलफलका निम्ति पेश गर्नेमा लचकता अपनाउने निष्कर्षमा पुगेको छ ।

‘दीर्घकालीन महत्वका विषयमा जनप्रतिनिधिहरुको कुरा संसद्मा अभिलेख गराउन दिनुपर्ने भन्दै समाजवादी त्यो निष्कर्षमा पुगेको हो । तर विपक्षमा मतदान गर्ने भएको छ । बुधवार भएको प्रदर्शनमा समाजवादीका कार्यकर्ता पनि सहभागी भएका थिए । प्रधानमन्त्री देउवाले प्रचण्ड र गठबन्धनका दलहरुलाई एमसीसी संसदमा पेश हुने वातावरण बनाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रह बमोजिम एमसीसी पेश गर्न दिनेमा एकीकृत समाजवादी तयार भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जबर्जस्ती बढाए विपक्षमा मतदान गर्न निष्कर्षमा एकिकृत समाजवादी पुगेको छ । जसरी पनि एमसीसी अनुमोदन गराउने अडानमा प्रधानमन्त्री देउवा रहिरहे भने गठबन्धनबाट बाहिरिन समेत तयार हुनुपर्नेमा नेताहरु सहमत भएका छन् । तर एकीकृत समाजवादीले शनिवार मात्र यसवारे औपचारीक निर्णय सार्वजनिक गर्ने भएको छ ।

माओवादी र कांग्रेसले जस्तो हतारमा यसवारे निर्णय नलिने नेताहरुको भनाई छ । कांग्रेस र माओवादीको हतारको निर्णयले नेकपा एमालेलाई सहयोग पुगेको निष्कर्ष पनि समाजवादीका नेताहरुले निकालेका छन् । एमसीसीकै कारण सरकार छोड्नुपर्ने अवस्था आएपनि पछि नहट्ने निचोडमा नेताहरु पुगेका छन् ।

एमसीसी संसदमा छलफल भएर आफ्नो दलले विपक्षमा मतदान गर्दा पनि एमालेको समर्थनमा अनुमोदन भए प्रधानमन्त्री देउवालाई फ्लोरबाट समर्थन गर्ने रणनीति समाजवादीले बनाएको छ । सो पार्टी जसरी पनि ओलीलाई प्रधानमन्त्री हुन रोक्नका निम्ति यो विकल्पमा जाने देखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्