प्रचण्ड र माधवसंग कुरा नमिलेपछि ओली भेट्न बालकोट पुगे देउवा




काठमाडौं :

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् ।

सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।

एमसिसी संसद्‍मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन् । अहिले देउवा र ओलीबीच बालकोटमा सम्बाद जारी रहेको बताइएको छ ।

बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए ।

टुंगोमा पुग्न सकेन सत्ता गठबन्धनको बैठक, भोली बिहान पुन: बस्ने

सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो ।

कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो : मन्त्री कार्की

सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए ।

बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनले बताए । ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो । भोलि बिहान १० बजे पुन: बैठक बस्ने छ,’ उनले भने ।

उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्‍याउने भन्नेबारे छलफल भएको बताए । उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्