प्रचण्ड र माधवसंग कुरा नमिलेपछि केपी ओली भेट्न प्रधानमन्त्री देउवा पत्‍नी आरजुसहित बालकोटमा




काठमाडौं :

सत्ता गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा पत्‍नी आरजुसहित बालकोट पुगेका हुन्।

सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।

एमसिसी संसद्‍मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन् । अहिले देउवा र ओलीबीच बालकोटमा सम्बाद जारी रहेको बताइएको छ ।

कांग्रेसका नेताहरुका अनुसार देउवा सकेसम्म भोलि (शुक्रबार) नै संसद बैठकमा एमसीसी टेबल गर्न चाहन्छन्। उनले त्यही प्रस्ताव सत्ता गठबन्धनको बैठकमा समेत राखेको बालुवाटार स्रोतले जानकारी दियो। तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कुनै पनि हालतमा भोलि एमसीसी टेबल गर्न नदिने अडान लिए। सत्ता साझेदार दलबीच सहमति हुन नसक्दा तीन घन्टाको छलफल बिना निष्कर्ष टुंगिएको थियो।

बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्